वडासम्मै संगठन बलियो बनाउने एमालेको योजना
२४ जेठ काठमाडौँ । नेकपा एमालेले वडा तहमा संगठनलाई व्यापक विस्तार गर्न युवातिर नजर लगाएको छ। उसले पाका उमेर समूह र तन्नेरी नेता-कार्यकर्ताको संख्यामा असन्तुलन देखिएको भन्दै पार्टीमा युवा आकर्षण र युवा सहभागिता विस्तार गर्न नयाँ अभियान थाल्ने योजना अघि सारेको छ।‘वडावडाः भावी युवा नेता’ भन्ने नारा दिएर नयाँ कार्यक्रम गर्ने प्रस्ताव गरेको हो। युवाहरुका बीचमा पार्टी कामको विस्तार हुने एमालेको विश्लेषण छ।
जसअनुसार अधिवेशन र पुनर्गठनका माध्यमबाट आधारभूत तहका कमिटीमा एकतिहाइ सदस्य ३५ वर्षमुनिका पार्टी सदस्यहरुलाई संगठित गर्नेगरी युवालक्षित अभियान सञ्चालन गरिने भएको हो। एमालेले आफ्ना नेताहरु र कमिटीलाई पठाएको अन्तरपार्टी निर्देशन (अपानि) मा उक्त कुरा उल्लेख छ।
गत माघ फागुनमा सञ्चालन भएको मिसन ग्रासरुट अभियानले पहिचान गरेका सम्भावना भएका र थप युवा पहिचान गरी नेतृत्व विकासको लागि पार्टी स्कुलको माध्यमबाट विशेष प्रशिक्षण कार्यक्रम (क्लोज क्याम्प) संचालन गर्ने तयारी एमालेको छ।
एमालेले अहिलेका युवाहरु ‘आफैं नेता, आफैं प्रधानमन्त्री” जस्ता न्यारेटिभ्सबाट प्रभावित देखिएकाले सम्भावना भएका युवाहरु पहिचान गरी उनीहरुको अपेक्षालाई समेत सम्बोधन गर्ने योजना बनाएको छ। ‘देशैभरी–छोराछोरी’को नारामा पार्टीका नेता कार्यकर्ताको घरघरबाटै युवा–कार्यक्रम सुरु गर्ने भएका छन्।‘प्रत्येक वडा– कम्तीमा १० युवा’ कार्यक्रममार्फत् ‘वडावडा : भावी युवा नेता’ कार्यक्रम सञ्चालन गर्ने योजना अपानिमा ल्याइएको छ।