बाढीले ताप्लेजुङमा पुल बगायो
ताप्लेजुङ । अत्यधिक वर्षाका कारण ताप्लेजुङको पूर्वी क्षेत्रको जनजीवन प्रभावित भएको छ । दुई दिनदेखिको अविरल वर्षाका कारण सिरीजंघा र सिदिङ्वा गाउँपालिकाका विभिन्न क्षेत्रमा बाढी, पहिरोले क्षति पुगेको छ । निरन्तरको वर्षाले थप जोखिम बढेकाले यहाँका नागरिक त्रसित बनेका छन् । गए राति आएको बाढीले सिरीजंघाको खेवाङ र सिदिङ्वाको मेहेले जोड्ने तावाखोलामाथिको मोटरेवल पुल बगाएको छ । एक महिनाअघिदेखि सञ्चालनमा आएको उक्त पुलको आधा भाग बाढीले बगाएको स्थानीयले बताए ।
सिरीजंघा गाउँपालिका–८ याम्फुदिनमा दुई वटा जलविद्युत् आयोजनामा बाढीले क्षति पुगेको छ । स्थानीय पेम्बा शेर्पाका अनुसार आठ किलोवाट क्षमताको जलविद्युत्को पावर हाउस बाढीले बगाएको छ भने अर्को १५ किलोवाटको पाइप बगाएको छ । यस्तै स्थानीय जगतबहादुर राईको एक घर बाढीकै कारण जोखिममा परेको छ । यता सिदिङ्वा गाउँपालिकाको सुरुम्खिमका विद्यालय बिहीबारदेखि नै वर्षाका कारण बन्द गरिएका छन् । अत्यधिक वर्षाले बाडी पहिरोको जोखिम रहेकाले विद्यालय बन्द गरिएको हो । निरन्तर वर्षा भइरहेकाले जनजीवन त्रसित बनेको खेवाङका शिक्षक विनम माबोले बताए।