रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स


Capital Headline
प्रकाशित मिति : आइतबार, साउन २१ २०८०
6.2K
SHARES

२१ साउन काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्देशिकाविपरीत रङ परिवर्तन गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्ने भएको छ।रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो।

रास्वपाले त्यसलाई गाउँ-गाउँ पुगेर ६५ वर्षभन्दा माथिका वृद्धवृद्धाहरूको निःशुल्क उपचार गर्ने माध्यम बनाएपछि प्रश्न उठेको थियो। मोबाइल क्लिनिक लेखिएको गाडी मेडिकल कलेजलाई नै फिर्ता गरेर अर्को गाडी भाडामा लिने तयारी भइरहेको रास्वपाका सभापति रवि लामिछानेको सचिवालयका प्रमुख कार्यकारी अधिकृत हेमन्त बरालले बताए।

‘रङ परिवर्तनको इस्यु आयो। १० वर्ष पुगिसकेपछि एम्बुलेन्सको रूपमा प्रयोग गर्न नमिल्ने अवस्थाको गाडीलाई मोबाइल संस्था क्लिनिकका रूपमा प्रयोग गरेका हौं,’ बरालले सेतोपाटीसँग भने, ‘विभिन्न कानूनी जटिलताका कुराहरू उठेपछि हामीले त्यसलाई पहिला जुन रङ थियो, त्यही रङको बनाउन पठाइएका छौं।’

उनले कार्यक्रम यथावत् रहेको र अर्को गाडी भाडामा लिएको पनि बताए। ‘कार्यक्रम यथावत छ, अर्को गाडी भाडामा लिएर मोबाइल क्लिनिक सञ्चालन गरिसकेका छौं,’ उनले भने ।मेडिकल कलेजले पुरानै रङमा फर्काएर गाडी चलाउन भने पनि आफूहरूले अर्को गाडी भाडामाले लिएको उनले बताए।

‘आज जुगेडीमा अर्कै गाडीसहित डाक्टरहरू गएर कार्यक्रम नै सञ्चालन गरिराख्नु भएको छ,’ उनले भने। यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० को दफा ११ ले आफूखुसी रङ परिवर्तन गर्न दिँदैन। सवारीको किसिम, इन्जिन, च्यासिस, रङ सिट, बडी निर्माण गर्नु परेमा यातायात व्यवस्था विभागबाट अनुमति लिनुपर्ने प्रावधान छ।

तर रास्वपाले स्वीकृति नलिएको भन्दै आलोचना भएकोबारे पनि उनले प्रष्टीकरण दिए। ‘बसको ७ वटा रङ दिएको छ। त्यसमध्ये नीलो रङ पनि समावेश छ। हामीले बससँग सम्झौता गरेका हौं। जसमा नीलो रङ पनि समावेश भएकाले त्यो रङ प्रयोग गर्दा कुनै पनि कानुनी जटिलता नभएको स्पष्टीकरण लिएसकेपछि मात्रै हामीले बससँग सम्झौता गरेका हौं। पहिले त्यो इस्यु नै थिएन,’ उनले भने।

बस निर्बाध चल्ने पनि उनले बताए। सभापति रवि लामिछानले पनि फेसबुक स्ट्याटसमार्फत् ‘मोबाइल क्लिनिक’ नरोकिने बताएका छन्। कठै! मोबाइल क्लिनिकमा हामीलाई प्राप्त गाडी मात्र परिवर्तन हुन लागेको हो। मोबाइल क्लिनिक चालु छ। आज जुगेडी क्षेत्रमा  बा-आमाको सेवामा हुनेछ, यो रोकिने होइन। छिट्टै २ वटा हुन्छ,’ उनले भनेका छन्, ‘ब्लु बसमा पनि कुनै समस्या छैन।’

आलोचना भइरहेकोतर्फ लक्षित गर्दै उनले मान्छेको पछि लाग्न छोडेर अब गाडीको पछि भन्दै प्रश्न पनि गरेका छन्।‘भोलि टायर पुरानो भनेर लेख्न तयार हुनु होला…हैट हेडलाइन आतंक र हैरानी। सक्दैनौ, सक्दै त सक्दैनौ,’ उनले भनेका छन्।

लामिछानेले उपनिर्वाचन जितेको सय दिनका अवसरमा आफ्नो निर्वाचन क्षेत्र चितवन २ मा ब्लु बस र मोबाइल क्लिनिक सञ्चालनमा ल्याएका थिए। बसले महिलाहरूलाई निःशुल्क आवतजावतको सेवा दिइरहेको छ।