नेपालले कोदो उत्पादन बढाउनुपर्छ – कृषिमन्त्री


Capital Headline
प्रकाशित मिति : बुधबार, भाद्र २० २०८०
3.3K
SHARES

२० भदौ काठमाडौं । कृषि तथा पशुपक्षी विकासमन्त्री डा. वेदुराम भुसालले नेपालले कोदो उत्पादन बढाउनुपर्ने बताएका छन् ।मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालको पहाडी भूभाग कोदो उत्पादनका लागि उर्वर रहेको भन्दै कोदो उत्पादन गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए ।

बाँदर आतंकबाट पनि अन्य अन्नबालीको तुलनामा कोदोलाई कम क्षति हुने भएकाले कोदोको उत्पादन गर्न उनको आग्रह छ । सरकारले पनि कोदो उत्पादनलाई बढावा दिने गरी काम गरिरहेको उल्लेख गर्दै उनले कोदो स्वास्थ्यका लागि लाभदायी रहेको बताए ।

समाजमा खानपानमा आएको परिवर्तनसँगै स्वस्थताको कमी हुँदै गइरहेको समयमा प्राकृतिक कृषितर्फ र प्राकृतिक खानपानतर्फ मानिसहरुले रुचि राखिरहेको उनले बताए । खाद्यान्न वृद्धि गर्ने नेपालको अभियानलाई अगाडि बढाउन कोदो उत्पादन मुख्य सावित हुनसक्ने बताउँदै उनले जलवायु परिवर्तनको क्षेत्रमा आएको विश्वव्यापी परिवर्तनले खाद्यान्न उत्पादनको जोखिम बढेको धारणा राखे ।

कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले नेपाल र भारत मिलेर कोदोको उत्पादन बढाउनुपर्ने र कोदोबाट विभिन्न परिकार बनाएर विश्वमा ब्रान्डिङ गर्नुपर्ने बताए । उनले भारतले कोदोको उत्पादन बढाउने अभियान नै सञ्चालन गरिरहेको भन्दै नेपालले पनि कोदो उत्पादन बढाउने गरी उत्पादनलाई बजारीकरण गर्न सक्नुपर्ने बताए ।