बिहानै कांग्रेस नेताहरु बालुवाटारमा
१ जेठ काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदको गतिरोध अन्त्यको प्रयासमा नेपाली कांग्रेसका नेताहरुसँग सम्वाद जारी राखेका छन् ।
उनले आज बिहानै महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक लगायतका नेताहरुलाई बालुवाटारस्थित निवासमा बोलाएर छलफल गरिरहेका छन् ।आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्यको प्रयासमा प्रधानमन्त्री प्रचण्ड छन् ।
सहकारीको रकम अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गर्दै आएको छ । आफ्ना माग सम्बोधन नभए राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा पनि अवरोध हुनसक्ने चेतावनी कांग्रेसले दिएको छ ।