पार्टी विभाजन बारे अध्यक्ष नेपालले दिए यस्तो प्रतिक्रिया
३ जेठ काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी विभाजन गर्न सहज नभएको बताएका छन् । केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले कुभलो नचिताउन आह्वान पनि गरे । “हाम्रो पार्टी विभाजन गर्न सजिलो छैन । कसैले कुभलो चिताएको छ भने नचिताउन आग्रह मात्रै गर्न सक्दछौं,” उनले भने । उनले पार्टी विभाजनाको सूचना पाए उपलब्ध गराउन समेत आग्रह गरे । “सूचना छ भने कृपया उपलब्ध गराउनुस्,” उनले भने, “हामी आँखा चिम्लेर विश्वास पनि गर्दैनौं । आँखा चिम्लेर अस्वीकार पनि गर्दैनौं ।”
उनले अहिलेसम्म बुझ्दा पार्टी विभाजन गर्ने अवस्था नदेखिएको बताए । समाचार आएकाले आफूहरु आत्तिएको सुनाए । त्यस्तै, जनता समाजवादी पार्टी विभाजन भएपछि समाजवादी मोर्चामा संकट देखिएको बताए । “समाजवादी मोर्चामा संकट त निम्तियो । जनता समाजवादी पार्टी विभाजित भएर अर्को पार्टी देखा परेको छ । संकट कसरी समाधान गर्ने बारेमा छलफल गरेपछि मात्रै भन्न सकिन्छ,” नेपालले भने । उनले आफूहरु एकताको पक्षमा रहेको बताए । उनले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुन एमालेलाई आह्वान समेत गरे । नेपालले कोसीमा छलफल नगरिए पनि विश्वासको मत दिइएको बताए ।
“विश्वासको मत दिएर सरकारलाई अघि बढाउने मात्रै होइन । सरकारमा सहभागी हुन आह्वान गर्दछौं,” उनले भने, “ कोसीमा हामीसँग कुरा भएर नयाँ सरकार बनेको होइन । तर, पनि हामीले विश्वासको मत दिएका छौं ।”