संसदमा भएको अभद्र व्यवहार बारे नेता गुरुङले खुलाए वास्तविक


Capital Headline
प्रकाशित मिति : शनिबार, जेष्ठ ५ २०८१
3.9K
SHARES

५ जेठ काठमाडौ । नेपाली कांग्रेसका सांसद धनराज गुरुङ संघीय संसदमा बिहीबारको प्रस्तुतिले आलोचना खेपिरहेका छन् । संसद अवराेधका क्रममा उनी गृहमन्त्री रवि लामिछानेलाई राेक्न सत्तापक्षको ‘रो’मा पुगेर नाराबाजी गरे । लामिछानेलाई राेस्ट्रममा जाने बाटाे खाेल्न एमाले सांसदहरू उठेपछि उनी एमाले अध्यक्ष केपी शर्मा ओली अघि पुगे । ओली ‘यहाँ नाराबाजी नगर्नुस्, मिल्दैन’ भनेपछि पूर्वकानुन, न्याय तथा संसदीय मामिलामन्त्री गुरुङले उत्तेजित भई ओलीतिरै औँला ठड्याउँदै नाराबाजी गरे । जसलाई एमालेले कांग्रेसले संसदीय मर्यादा भुलेर असभ्य र अभद्र व्यवहार गरेकाे भनिरहेकाे छ ।

कांग्रेस उपसभापतिसमेत रहेका गुरुङ अघिल्लो दिन राजनीतिज्ञलाई अनुशासन सिकाउन आवश्यक रहेको बताइरहेका थिए । नेपाल लोकतान्त्रिक खेलकुद संघ कास्कीले आयोजना गरेको प्रथम क्लबस्तरीय भलिबल प्रतियोगिताको उद्घाटन गर्दै उनले राजनीतिज्ञले खेलाडीबाट अनुशासन सिक्न आवश्यक रहेको बताएका थिए । त्यसैको भोलिपल्टै उनीमाथि नै अराजकताकाे आराेप लाग्ने घटना घट्याे ।

कास्कीमा बोल्ने क्रममा उनले राजनीतिज्ञ बेलगाम भएको टिप्पणी गरेका थिए । ‘हामी राजनीतिकर्मीमा अनुशासनको कमी हुँदै गएको देखिएको छ । खेलाडीबाट अनुशासन सिक्न जरुरी छ,’ गुरुङले भनेका थिए, ‘खेलकुदमा जसरी रेफ्रीले सिटी बजाएपछि त्यो सिटीलाई आधार मानेर अनुशासनमा रहेर खेल्छन् तर राजनीतिक खेलाडीहरू बेलगाम भएका छन् ।’

चाैतर्फी आलाेचनापछि नेता गुरुङले ओलीले ‘यहाँबाट हट्नुस्’ भनेपछि उनीतिर फर्केर नारा लगाएको तर उनको कुराको प्रतिवाद नगरेको प्रस्टीकरण दिएका छन् ।उनले भनेका छन्, ‘ओलीजीसँग आमनेसामने मात्र भएको हो । खास त्यस्तो भएको केही होइन ।