नेताहरु पैसा माग्न आइरहने,म त आत्तिएँ – मन्त्री बुढा
६ जेठ काठमाडौं । शहरी विकास मन्त्री धनबहादुर बुढाले पदमा रहन अनिच्छा प्रकट गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मन्त्री बनेका बुढाले शीर्ष नेताहरुलाई भेटेरै आफू जुनसुकै बेला हट्न तयार रहेको सन्देश समेत सुनाएका छन् । नेकपा एसका एक नेताका अनुसार गत साता बसेको संसदीय दलको बैठकमै उनले आफू मन्त्री पद त्याग्न तयार रहेको र ढिलोमा जेठ १५ सम्म राखेर आफ्नो ठाउँमा अर्को कोही सांसदलाई मन्त्री बनाए हुने बताएका थिए ।
जेठ १५ मा बजेट आउने भएकाले बजेटसम्म बस्ने त्यसपछि नबस्ने उनको आशय देखिएको ती नेताले बताए । बुढाले मन्त्री पदमा आशक्ति नदेखाएपछि नेताहरुलाई सम्भावित पार्टी विभाजन रोक्न एकजना असन्तुष्ट सांसदलाई मन्त्री बनाउने मौका मिल्ने देखिन्छ । भनाइ उदृत गर्दै ती नेताले भने–यो शहरी विकास मन्त्रालय त ठूलो रहेछ मैले केही मेलो पनि पाउन सकिन । मान्छेहरु धेरै आएर म त घरबाटै काम गर्दैछु । नेताहरु पैसा माग्न पनि आइरहने,म त आत्तिएँ ।
बुढाले जीवनमा एकपटक मन्त्री बन्ने चाहना पूरा भएपछि अब अर्को चुनावपछि सक्रिय राजनीति समेत नगर्ने निकटस्थहरुलाई बताएका छन् । उनले अब दाजु कर्णबहादुर बुढाका लागि डोल्पाको मैदान खाली गर्न खोजेका छन् । कर्ण नेपाली कांग्रेसका नेता हुन् ।राप्रपाबाट एमाले प्रवेश गरी २०७० मा पहिलोपटक सांसद बनेका बुढा त्यसयता लगातार डोल्पाबाट चुनाव जितिरहेका छन् । उनी यसअघि रविन्द्र अधिकारी पर्यटनमन्त्री भएका बेला केही समय राज्यमन्त्री थिए ।