दर्दनाक एकान्तबासमा क. महरा


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ ६ २०८१
21.6K
SHARES

६ जेठ काठमाडौ । राजनीति कतिसम्म निर्मम हुँदो रहेछ भन्ने कुरा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उहाँका सहयात्रीहरूको सम्बन्धले पुष्टि गरेको छ । जनयुद्धको प्रतिकूल समयमा होस् या राजनीतिका कठिन मोडमा, निरन्तर साथ दिएका नेताहरूलाई क्रमशः किनारामा पार्दै प्रचण्ड भने सत्ताको खेलमा रमाइरहेको सन्दर्भ हो यो ।  त्यसो त, सहकर्मीहरूबीच कृत्रिम अन्तरविरोध सिर्जना गर्ने अनि त्यसैमा खेलेर आफू निरन्तर नेतृत्वमा स्थापित हुने उपयोगितावादको राजनीति गरेको आरोप प्रचण्डमाथि लाग्दै आएको छ । जनयुद्धका बेला मोहन वैद्य किरण र डा. बाबुराम भट्टराईबीचको वैचारिक मतभेद उत्कर्षमा पुग्दा उनीहरू अध्यक्षबाट पालैपालो प्रयोग भएको भन्ने गरिन्छ । आफूपछिको वरीयताका यी दुवै नेता अहिले प्रचण्डको साथमा छैनन् ।

कुनै समय ‘म अध्यक्ष कमरेड प्रचण्डमा बिलय भएँ’ भन्ने रामबहादुर थापा नेतृत्वले पार्टीमा टिक्न नदिएको आरोप लगाएर एमाले रोज्न पुगे । जनयुद्धताका प्रचण्डको उत्तराधिकारीका रूपमा चर्चा गरिएका नेत्रविक्रम चन्द विप्लव पनि अर्कै कित्तामा छन् । देव गुरुङलाई महासचिव बनाउनकै लागि प्रचण्डले वर्षमान पुन र जनार्दन शर्मालाई भिडाएको चर्चा माओवादी वृत्तमा अहिले पनि हुने गर्छ ।

यता, जनयुद्धदेखि शान्ति प्रक्रिया हुँदै संविधान निर्माणको जटिल प्रक्रियामा प्रचण्डको बलियो सारथि बनेर उभिएका कृष्णबहादुर महरालाई पनि त्यसैगरी मिल्काइएको छ । पार्टी अध्यक्ष देशको कार्यकारी प्रमुख रहेकै बेला प्रहरी हिरासतमा पुगेका उनी बुढ्यौलीसँगै रोगले थलिएका छन् । जीवनको ऊर्जाशील समय पार्टी र आन्दोलनमा बिताएका उनलाई अहिले कतैबाट पनि आड भरोशा छैन । अध्यक्ष प्रचण्ड सिंहदरबारमा सत्ताको हिसाब मिलाउन व्यस्त रहँदा फोन सम्पर्क र      पिएसओको साथ बिना खुमलटारस्थित भाडाको घरमा गुमनाम जिन्दगी बिताइरहेका महराले पार्टीबाट सान्त्वनाको आससमेत मारिसकेका छन् ।

भेट्न आउने शुभचिन्तकहरूले सोध्दा विरक्त मान्दै भन्ने गरेका छन्, ‘पार्टी पनि छ र !’ आफैँ रोगले ग्रस्त महराको पारिवारिक पीडा झन् दर्दनाक छ । चार वर्षअघि जीवनसंगिनी गुमाएका उनलाई अहिले तातोपानी तताएर दिने मान्छेसमेत छैन । छोरो राहुल जेलमा छन् भने जेठी छोरीलाई प्यारालाइसिस भएको छ । अर्कोतिर मासिक घरभाडा कसरी तिर्ने भन्ने चिन्ता उस्तै छ । खर्चपर्च कसरी मिलाउनुभएको छ ? भन्ने प्रश्नमा उनी भन्छन्, ‘मागेर खाने, अरु के गर्ने !’ माओवादी आन्दोलनभित्र मात्र होइन, राष्ट्रिय राजनीतिले समेत उपयोगितावादको प्रचण्ड नीतिको भर्पाइ गरिरहेको छ । – साभार:जनआस्था साप्ताहिकबाट