जर्मनीलाई समूह विजेताको अवसर


Capital Headline
प्रकाशित मिति : आइतबार, असार १० २०८१
2.8K
SHARES

९ असार काठमाडौं । युरो २०२४ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु सुरु हुँदैछ । जसमा आयोजक जर्मनीले समूह ए को अन्तिम खेलमा स्विट्जरल्याण्डसँग खेल्दैछ । खेल नेपाली समय अनुसार मध्यराति १२:४५ बजे फ्रांकफर्टमा हुनेछ । यसअघि लगातार दुई खेल जित्दै अन्तिम १६ मा स्थान पक्का गरिसकेको जर्मनी समूह विजेता बन्ने लक्ष्यमा छ । जर्मनीले पहिलो खेलमा स्कटल्याण्डलाई ५-१ र दोस्रो खेलमा हंगेरीलाई २-० ले पराजित गरेको थियो ।

स्पेनसँगै संयुक्त रुपमा सर्वाधिक ३ पटक युरो जितेको जर्मनी यसपटक घरेलु मैदानमा लयमा देखिएको छ । जर्मनीलाई समूह विजेता बन्न १ अंक नै पर्याप्त हुनेछ । उता स्विट्जरल्याण्ड दुई खेलबाट ४ अंक जोडेर दोस्रो स्थानमा छ र नकआउट चरणमा पुग्न १ अंक आवश्यक छ ।स्विट्जरल्याण्डले पहिलो खेलमा हंगेरीलाई २-१ ले पराजित गरेको थियो र स्कटल्याण्डसँग १-१ को बराबरी खेलेको थियो ।

पराजित भएमा पनि स्विट्जरल्याण्ड नकआउट चरणमा पुग्न सक्छ तर त्यसका लागि हंगेरीले अर्को खेलमा स्कटल्याण्डलाई हराउनुपर्नेछ ।समूह ए अन्तर्गत नै हंगेरी र स्कटल्याण्डको बीचको पनि उही समयमा आज हुँदैछ । यो खेल स्टुटगार्डमा हुनेछ ।दुवै टोद्यीलाई यो खेल नकआउट जस्तै हुनेछ । किनभने जित्ने टिमको नकआउट चरण पुग्ने सम्भावना बाँकी हुने पराजित हुने ली स्वत: बाहिरिनेछ ।

स्कटल्याण्डको दुई खेलबाट १ अंक मात्र छ भने हंगेरी लगातार दुई हारबाट अंकविहीन छ । त्यसैले समूहको तेस्रो हुँदै नकआउट चरण पुग्ने सम्भावना बाँकी राख्न दुवैलाई जितको आवश्यकता छ ।