धेद्रे सुरुङ ‘ब्रेक थ्रु’


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २१ २०८१
2.7K
SHARES

२१ साउन मकवानपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय गौरव एवं रणनीतिक महत्त्वको काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) सडक आयोजनाअन्तर्गत घट्टेपाँखा–धेद्रे सुरुङको स्वीच थिचेर ‘ब्रेक थ्रु’ गरेका छन् ।  मकवानपुरको बकैया गाउँपालिका–१२, धेद्रेमा सोमबार (आज) एक समारोहबीच प्रधानमन्त्री ओलीले काठमाडौं–निजगढतर्फको १.७२८ किमी लामो सुरुङ ब्रेक थ्रु गरेका हुन् । निजगढ–काठमाडौंतर्फको १.६५३ किमी धेद्र्रे सुरुङ भने गत जेठ ११ गते नै ‘ब्रेक थ्रु’ भइसकेको छ । धेद्रे सुरुङ छिचोलिएसँगै प्याकेज नं दुईअन्तर्गतका सबै सुरुङ खोल्ने काम सम्पन्न भएको छ ।

कार्यक्रममा प्रधानसेनापति प्रभुराम शर्माले आयोजनाको हालसम्मको निर्माण प्रगति र चुनौतीबारे प्रधानमन्त्री ओलीलाई अवगत गराउँदै आयोजनाको भौतिक प्रगति ३५.९८ प्रतिशत रहेको जानकारी दिए ।   लेनडाँडामा रहेको निजगढ–काठमाडौंतर्फको १.६१२ किमी र काठमाडौं–निजगढतर्फको १.६३३ किमी सुरुङ यसअघि नै खनिसकिएको छ । ३.३२२ किमीको निजगढ–काठमाडौंतर्फको महादेवटार सुरुङ हालसम्म २.२९ किमी तथा ३.३८६ किमीको काठमाडौं–निजगढतर्फको २.२८८ किमी सुरुङ खनिसकिएको छ । सो सुरुङ यसैवर्ष सम्पन्न गर्नेगरी काम भइरहेको नेपाली सेनाले जनाएको छ ।

द्रुतमार्ग २०८३ चैत मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य छ । आयोजनालाई १३ प्योकजमा विभाजन गरी निर्माण गरिएको छ । आयोजनाअन्तर्गत विभिन्न स्थानमा निर्माण हुने ८९ मध्ये ८५ पुल ठेक्का व्यवस्थापन भई कार्यान्वयनको चरणमा रहेका छन् । बाँकी चार पुल खोकना क्षेत्रमा छन् । सो क्षेत्रमा जग्गा अधिग्रहणसम्बन्धी समस्याका कारण निर्माणमा जान नसकेको सेनाको भनाइ छ ।