थाइल्यान्डको चर्चित पार्टी अदालतबाट विघटन


Capital Headline
प्रकाशित मिति : बिहिबार, साउन २४ २०८१
1.7K
SHARES

२४ साउन बैंकक । थाइल्यान्डको एउटा अदालतले गत वर्षको निर्वाचनमा धेरै सिट जितेको सुधारवादी मुभ फर्वार्ड पार्टी विघटनको आदेश दिएको छ । उक्त पार्टीले शाही परिवारलाई आलोचना गर्न नमिल्ने कानुनमा संशोधन गर्न चाहेको र त्यसले संविधानको उल्लंघन हुने फैसलामा जनाइएको छ ।बुधबार बैंककस्थित संवैधानिक अदालतले एक मतले गरेको फैसलामा पार्टीको कार्यकारी बोर्डलाई समेत प्रतिबन्ध लगाइएको छ । पार्टीका पूर्वनेता पिता लिम्जारोएन्राट र अहिलेका प्रमुख चाइथावात टुलाथन समेत प्रतिबन्धमा परेका छन् । उनीहरूलाई १० वर्षसम्म प्रतिबन्ध लगाइएको हो ।

उक्त पार्टीले सन् २०२३ को आमचुनावमा सबैभन्दा धेरै सिट जितेको थियो । पार्टीलाई सहरी युवा जमातले मन पराएको थियो । शाही मानहानिसम्बन्धी कानुनको कडा प्रावधानमा सुधार गरिनुपर्ने एजेन्डा समेत पार्टीको थियो ।

पार्टीका पूर्वनेता पितालाई प्रधानमन्त्री हुनबाट तत्कालीन सेनाद्वारा नियुक्त सिनेटले रोक लगाएको थियो । यो वर्षको सुरुमा पनि निर्वाचन आयोगले देशको सर्वोच्च अदालतलाई उक्त पार्टी विघटनको आग्रह गरेपछि पिताको राजनीतिक करियरमा नै धक्का लागेको थियो ।

पछिल्लो आदेशले पार्टीका दशौँ लाख समर्थकलाई आक्रोशित पार्न सक्नेछ । उक्त पार्टीबाट संसद्मा १४३ सदस्य छन् । उनीहरू अर्को कुनै नयाँ पार्टीमा संगठित भएर संसद्को सिट कायम राख्न सक्ने जनाइएको छ । सन् २०२० मा फ्युचर फर्वार्ड पार्टी प्रतिबन्धित भएपछि पनि त्यसै गरिएको थियो ।

विघटित राजनीतिक दलका सांसद ६० दिनभित्र नयाँ पार्टीमा गएमा संसद्को सिट संख्या कायम रहने व्यवस्था थाइल्यान्डमा छ । विघटित पार्टीका नेताहरूले बुधबार आफ्ना सांसदले यसै हप्ता नयाँ पार्टी बनाउने जनाएका छन् ।विघटित पार्टीका अध्यक्ष चाइथावातले बुधबार नै एक पत्रकार सम्मेलन गरी संविधानको व्याख्यामा अदालतले खतरनाक उदाहरण प्रस्तुत गरेको जनाएका छन् ।