जग्गा खाली गर्न चाँदबाग स्कुललाई २ दिनको अल्टिमेटम


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन २८ २०८१
1.9K
SHARES

२८ साउन काठमाडौं । काठमाडौं महानगरपालिकाले अतिक्रमित सार्वजनिक जग्गा दुई दिनभित्र खाली गराउन चाँदबाग स्कुललाई  निर्देशन दिएको छ । काठमाडौं महानगर वडा नम्बर ३ मा रहेको सो स्कुलले १० रोपनी सार्वजनिक जग्गा अतिक्रमण गरेको महानगरले जनाएको छ ।सार्वजनिक जग्गा संरक्षण अभियानमा जुटेको महानगरले नगर प्रहरीमार्फत माइकिङ गराउँदै अतिक्रमित जग्गा दुई दिनभित्र खाली गर्न स्कुललाई निर्देशन दिएको हो ।

बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्षको निर्णयको भरमा ६ भदौ २०४४ मा ६ रोपनी र १८ मंसिरमा थप ४ रोपनी गरी कित्ता नम्बर ५० को १० रोपनी जग्गा च्याम्पियन फुटवेयरको नाममा लगिएको थियो ।तर, ९ चैत २०८० मा  बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी जग्गा सरकारको नाममा आएको थियो ।

भूमिसुधार तथा मालपोत कार्यालय डिल्लीबजारले ८ साउन २०८१ मा ३ नम्बर वडालाई सो जग्गाको स्रेस्ता उतारेर दिएको थियो । स्रेस्ता पाएपछि वडाले चाँदबाद स्कुललाई हट्न भनेको थियो ।महानगर नगर प्रहरीका अनुसार महानगरले यस अगाडि नै सार्वजनिक जग्गा खाली गर्न सूचित गराए पनि दुई दिनको समय राखेर माइकिङ गरेको हो ।‘दुई दिनसम्म जग्गा खाली गरिएन भने बल प्रयोग गरेर भए पनि जग्गा खाली गराउँछ,’ महानगरका एक प्रहरी अधिकारीले भने ।