साफ च्याम्पियनसिप: भुटान सेमिफाइनलमा
८ कात्तिक काठमाडौं । भुटान साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा प्रवेश गरेको छ ।बिहीबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा माल्दिभ्समाथि १३-० को फराकिलो जित निकाल्दै भुटान सेमिफाइनलमा प्रवेश गरेको हो । भुटानको जितमा देकी लाजोमले पाँच गोल गरिन् ।खेलको पाँचौँ मिनेटमा सोनम छोदेनले गोल गर्दै भुटानलाई सुरुवाती अग्रता दिलाएकी थिइन् । त्यसको दुई मिनेटपछि खेलको सातौँ मिनेटमा पेमा छिरिङले गोल गर्दै भुटानको अग्रता दोब्बर पारिन् ।
खेलको १५औँ मिनेटमा डेकीले गोल गर्दै अग्रता तेब्बर पारेकी थिइन् । खेलको १८औँ मिनेटमा पेमाले गोल गर्दै भुटानलाई ४-० को अग्रता दिलाइन् । १९औँ मिनेटमा डेकीले गोल गर्दै भुटानको अग्रता ५-० को स्थितिमा पुर्याइन् ।खेलको ४१औँ मिनेटमा नाम्गेल डेमाले गोल गरेपछि पहिलो हाफमा भुटान ६-० को अग्रता लिन सफल भयो । खेलको ४६औँ मिनेटमा गोल गर्दै डेकीले ह्याट्रिक पूरा गरिन् । खेलको ४७औँ मिनेटमा डेकी याङ्देनले गोल गर्दै भुटानलाई ८-० को अग्रता दिलाइन् ।
त्यसपछि खेलको ५२औँ मिनेटमा डेकीले व्यक्तिगत चौथो तथा टोलीका लागि नवौँ गोल गरिन् । खेलको ६५औँ मिनेटमा छिरिङ याङ्देनले गोल गर्दै भुटानलाई १०-० को स्थितिमा पुर्याइन् ।खेलको ६८औँ मिनेटमा छिरिङ लादेन र ७०औँ मिनेटमा डेकीले गोल गर्दै भुटानलाई १२-० को अग्रता दिलाए । त्यसपछि खेलको ८०औँ मिनेटमा छिरिङ याङ्देनले गोल गर्दै भुटानलाई १३-० को फराकिलो जित दिलाइन् ।
सेमिफाइनलमा प्रवेश गर्ने क्रममा भुटानले समूह ‘बी’ मा ३ खेलबाट ७ अंक जोडेको छ । पहिलो खेलमा नेपालसँग गोलरहित बराबरी खेलेको भुटानले दोस्रो खेलमा श्रीलंकालाई ४-१ गोलअन्तरले पराजित गरेको थियो ।समूह ‘बी’ कै अर्को खेलमा घरेलु टिम नेपालले आजै श्रीलंकासँग प्रतिस्पर्धा गर्दै छ । नेपाललाई सेमिफाइनलमा पुग्न बराबरी खेले पुग्छ भने श्रीलंकाले जित निकाल्नै पर्ने हुन्छ । नेपालले २ खेलबाट ४ अंक जोडेको छ भने श्रीलंकाको ३ अंक छ ।भुटानसँग बराबरीमा रोकिएको नेपालले दोस्रो खेलमा माल्दिभ्सलाई ११-० गोलअन्तरले पराजित गरेको थियो ।