डाइभर्सन योजना अगाडि बढ्छ – अर्थमन्त्री


Capital Headline
प्रकाशित मिति : शुक्रबार, मंसिर १४ २०८१
2.5K
SHARES

१४ मंसिर रुपन्देही । उपप्रधान तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले कालीगण्डकी–तिनाउ डाइभर्सन योजना अगाडि बढाउने बताएका छन् ।लुम्बिनी प्रदेशको विकासका लागि महत्वपूर्ण रहेको कालीगण्डकी–तिनाउ डाइभर्सन अगाडि बढाउन अदालतले बाटो खोली दिएकाले अब छिट्टै काम अघि बढ्ने उनको भनाइ थियो ।भैरहवामा रहेको लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थान एवं रिसर्च सेन्टर श्री रण अम्बिका आँखा अस्पतालको ४२औँ अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा अर्थ मन्त्री पौडेलले यस क्षेत्रकै लागि महत्वपूर्ण रहेको योजनाको डिपिआर निर्माणकै क्रममा केही पक्षले मुद्दा हालेकोमा अहिले अदालतले उक्त योजना अगाडि बढाउने पक्षमा फैसला गरेको बताए ।

“राम्दी बाट सुरङ खनेर कालीगण्डकीको पानी दोभानमा तिनाउ नदीमा खसाल्ने र रुपन्देही, नवलपरासी र कपिलवस्तुमा डेढ लाख हेक्टर भन्दा बढी जग्गामा सिँचाइ सुविधा विस्तार गर्ने योजना हो”, उनले भने, “यस सँगै करिब डेढ सय मेगावाट बिजुली उत्पादन गर्ने, पानी प्रशोधन गरि पिउनेयोग्य बनाउने र पर्यटन प्रर्वद्धनमा समेत सदुपयोग हुनेछ ।”

अर्थमन्त्री पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको नियमित सञ्चालनका विषयमा नकारात्मक कुरा नफैलाउन पनि आग्रह गरेका छन् । उनले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल रुपन्देहीका लागि मात्र नभइ नेपालकै लागि महत्वपूर्ण रहेको बताउँदै यसको सञ्चालन कुनै पनि हालतमा नरोकिने जिकिर गरे ।

“कसैलाई यो विमानस्थलको बारेमा बोल्न सङ्कोच लाग्छ भने यसको विरोध पनि नगरे हुन्छ”, उनले भने । “हुन्न, बन्दैन, चल्दैन किन भन्ने? सक्नुहुन्छ अलिकति योगदान गर्नुहोस, यस बारे सकारात्मक विषय लेखिदिनुहोस् ।”