प्रधानमन्त्री प्रस्थान गर्नु अघि त्रिभुवन विमानस्थल बन्द


Capital Headline
प्रकाशित मिति : सोमबार, मंसिर १७ २०८१
1.9K
SHARES

१७ मंसिर काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज सोमबार चीन भ्रमणमा जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आधा घण्टा बन्द गरिने भएको छ ।प्रधानमन्त्री ओली आज बिहान ११ बजे निजी अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सको जहाज लिएर चीनको औपचारिक भ्रमणमा जान लागेका हुन् ।

प्रधानमन्त्री चढेको जहाज उड्नुअघि २५ मिनेट र उडिसकेपछि ५ मिनेट गरी आधा घण्टा त्रिभुवन विमानस्थलमा अन्य जहाजका उडान-अवतरण नहुने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।

‘राष्ट्र प्रमुख वा सरकार प्रमुखको औपचारिक विदेश भ्रमणको उडान हुने बेला सुरक्षाका दृष्टिकोणले विमानस्थलमा अन्य उडान वा अवतरण गर्न नदिइने अन्तर्राष्ट्रिय अभ्यास हो’,  प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले  भने, ‘प्रधानमन्त्रीज्यूको जहाज उड्नुअघि २५ मिनेट र उडेपछि ५ मिनेट अरू जहाज रोकिन्छन् । यो सामान्य प्रक्रिया हो ।’