राष्ट्रपति देश छोडेर भागे


Capital Headline
प्रकाशित मिति : आइतबार, मंसिर २३ २०८१
3.2K
SHARES

२३ मंसिर काठमाडौं । सिरियाका राष्ट्रपति बसर अल असादले देश छाडेका छन् । हायात तहरिर अल-शाम नामक इस्लामवादी विद्रोही समूह राजधानी दमास्कस प्रवेश गरेसँगै राष्ट्रपति असाद भागेका हुन् । सिरियाका सरकारी अधिकारीहरुले राष्ट्रपति असाद एउटा विमानमार्फत उडेको पुष्टी गरेका छन् । तर, उनी कहाँ गए भन्नेबारे जानकारी नगराइए पनि इरान गएको हुनसक्ने धेरैको अनुमान छ ।

हिजबुल्लाहका सेना र अन्य सुरक्षा बलले पनि दमास्कस अन्तराष्ट्रिय विमानस्थलमा छाडिसकेको अन्तराष्ट्रिय मिडियाले जनाएका छन् । हिजबुल्लाहले लामो समयदेखि राष्ट्रपति असादको समर्थनमा कामकारवाही गर्दै आएको थियो । विद्रोही अल-शाम समूहले यसअघि होम्स शहरमा कब्जा गर्दा पनि हिजबुल्लाह सेना त्यहाँबाट भागेका थिए ।

पछिल्लो दुई महिनायता आधा दर्जन शहरमा कब्जा जमाएको उक्त विद्रोही समूहले राष्ट्पति असाद भागेसँगै कालो युगको अन्त्य भएको दावी गरेको छ । राष्ट्रपतिको बर्हिगमनले ‘तानाशाही युग’को अन्त्य भएको उसको तर्क छ ।

त्यस्तै अल-शाम समूहले टेलिग्राम च्यानलमार्फत राजधानीबासीलाई त्रसित नहुन आग्रह गर्दै अब नयाँ युगको शुभारम्भ हुन गइरहेको सन्देश पनि जारी गरेको छ । तर, नागरिकहरुमा भने आतंक पैदा भएको छ ।

दमास्कसको पछिल्लो १२ घण्टाको परिस्थितिबारे एक महिलाले भनेकी छन्, ‘विहान घरबाट कार्यालय निस्कदाँ यस्तो अवस्था थिएन । अचानक सबै डराएका छन् । सडकमा भीड बढेको छ, मानिसहरु आपूर्ति खोज्दै हिँडिरहेका छन्, एटिएममा पैसा निकाल्नेहरुको लाइन लागेको छ, मानिसहरुबीच राजधानी छाडेर अन्यत्र जाने सल्ल्लाह भइरहेको छ ।’

विद्रोही समूह हायत तहरीर अल-शाम सन् २०१२ मा गठन भएको थियाे । सुरुमा यो समूहको नाम अल-नुस्रा थियो । सन् २०१३ मा अल-कायदासँग एकता गरेको यस समूह पुनः २०१६ मा छुट्टिएर हायत तहरीर अल-शाम बनेकाे हाे । कतिपय युरोपियन देहरुले अहिले पनि यस समूहलाई अल-कायदाकै एक भाग मान्ने गरेका छन् ।