पाँचौँ टाइगर कपका लागि गण्डकी प्रदेशको टिम घोषणा
११ माघ काठमाडौं । पाँचौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगिताका लागि गण्डकी प्रदेशको टिम घोषणा भएको छ । गण्डकी भलिबल संघले तीन विदेशीसहित १२ सदस्यीय टिमको घोषणा गरेको हो ।टिममा सञ्जुविक्रम शाह, हरि पाण्डे, विवश आले, सन्तोष विक र इन्द्र विक समावेश छन् । यस्तै, नरबहादुर सुनार, हिमाल सुनारी, विश्वास अधिकारी र कुञ्जन शाहीले पनि गण्डकीबाट खेल्दैछन् । हेल्प नेपाल स्पोर्ट्स क्लबबाट खेल्दै आएका सञ्जुविक्रम यसपटक गण्डकी टिममा फर्किएका छन् । सञ्जुले केही समय गण्डकीको कप्तानी गरेका थिए ।
यसैगरी, गण्डकी प्रदेशले प्रतियोगिताका लागि ट्युनिसियाका फाहिम मिलाडी, कंगोका यानिक सेशा र भारतका रोमन कुमारलाई टिममा भित्र्याएको प्रदेश भलिबल संघका अध्यक्ष नविन गुरुङले जानकारी दिए । टिमको प्रशिक्षक रमेश केसी छन् ।
गण्डकी अघिल्लो संस्करणको उपविजेता टिम हो । शनिबारबाट सुरु हुने पाँचौँ संस्करणको टाइगर कप भलिबल १९ माघसम्म चल्नेछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा हुन लागेको प्रतियोगितामा सहभागी हुन विदेशी खेलाडी तथा टिम पोखरा आइरहेका छन् ।