नेइमारले छाडे अल हिलाल


Capital Headline
प्रकाशित मिति : मंगलबार, माघ १५ २०८१
2.3K
SHARES

१५ माघ काठमाडौं । ब्राजिलियन फरवार्ड नेइमार जुनियरले साउदी प्रो लिगको क्लब अल–हिलाल छाडेका छन् । सोमबार अल–हिलालले एक विज्ञप्तिमार्फत नेइमारसँगको सम्झौता आपसी समझदारीमा समाप्त गरेको जनाएको हो ।३२ वर्षीय फरवार्ड नेइमार सन् २०२३ को अगस्टमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बाट साउदी क्लब अल–हिलालमा अनुबन्धित भएका थिए । तर, त्यसयता निरन्तर चोटबाट गुज्रिएका नेइमारले अल–हिलालबाट सात खेलमात्रै खेले । उनलाई अल–हिलालले ९० मिलियन युरोमा अनुबन्धित गरेको थियो ।

नेइमारले यो सिजन अल–हिलालबाट दुई खेलमात्र खेलेका छन् । उनी पछिल्लोपटक नोभेम्बरमा सब्सिच्युट खेलाडीको रूपमा मैदान प्रवेश गरेका थिए ।साउदी क्लब छाडेसँगै उनी आफ्नो बाल्यकालको ब्राजिलियन क्लब सान्तोसमा फर्किने चर्चा उच्च छ ।

“अल–हिलालमा उनले दिएको कुराहरूप्रति क्लब धन्यवाद र आभार व्यक्त गर्दछ । क्लब उनको आगामी करियरमा सफलताको कामना गर्दछ,” अल–हिलालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।अल–हिलाल र नेइमारबीच भएको सम्झौताको सात महिना बाँकी नै थियो । साउदी क्लबसँग जोडिँदा नेइमारले ‘खेलकुदमा नयाँ इतिहास लेख्न चाहेको’ बताएका थिए । तर, दुई वर्षको सम्झौता भए पनि नेइमार अधिकांश समय चोटका कारण मैदानबाट बाहिर रहे ।सन् २०१३ मा स्पेनिस क्लब बार्सिलोनामा आबद्ध हुनुअघि नेइमारले सान्तोसबाट २२५ खेल खेल्दा १३६ गोल गरेका थिए । त्यसपछि उनले स्पेनिस क्लबबाट १८६ खेल खेल्दा दुईपटक ला लिगा, एकपटक च्याम्पियन्स लिग र क्लब विश्वकपको उपाधि जिते ।

नेइमार सन् २०१७ मा स्पेनिस क्लबबाट कीर्तिमानी मूल्यमा पीएसजीमा अनुबन्धित भएका थिए । उनलाई पीएसजीले २०० मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । यो फुटबलको खेलाडी सरुवा इतिहासमा हालसम्मकै सबैभन्दा धेरै मूल्य हो ।ब्राजिलका सर्वाधिक गोलकर्तासमेत रहेका नेइमारले अन्तर्राष्ट्रिय फुटबलमा ७८ गोल गरेका छन् ।