सार्वभौमसत्तामा सम्झौता गरिने छैन – मेक्सिको


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २१ २०८१
2.6K
SHARES

२१ माघ काठमाडौं । मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले देशको सार्वभौमसत्तासँग कुनै सम्झौता नहुने बताएकी छन् ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोमा २५ प्रतिशत कर लगाएकोमा मेक्सिकोका राष्ट्रपति क्लाउडिया शिनबामले मेक्सिकोले कुनै पनि प्रकारको द्वन्द्व नचाहेको बताउँदै हिम्मतको कमी नहुने चेतावनी दिएकी छन् ।राष्ट्रपति शिनबामले आफूलाई जनताको समर्थन रहेको र आफू एक्लै नभएको बताएकी छन् ।

उनले भनेकी छन्, “संयुक्त राज्य अमेरिकाको तर्फबाट मेक्सिको सरकारको आपराधिक संगठनहरूसँग मिलेर भएको आरोपलाई अस्वीकार गर्छौं । सार्वभौमसत्तासँग कुनै सम्झौता हुन सक्दैन ।”यसअघि उनले अमेरिकाले लगाएको करबारे प्रतिक्रिया दिँदै ‘अमेरिकाविरुद्ध पनि करवृद्धिसहित प्रतिशोधात्मक कारबाही गर्ने’ बताएकी थिइन् ।

“प्लान बी कार्यान्वयन गर्न अर्थमन्त्रीलाई निर्देशन दिन्छु । हामी यसका लागि काम गरिरहेका छौँ,” राष्ट्रपति शिनबामले भनेकी थिइन्, “यसमा मेक्सिकोको रक्षासँग सम्बन्धित ट्यारिफ (कर) र गैरट्यारिफ उपायहरू समावेश छन् ।”