पदक विजेता एथलेटिक्स खेलाडी सम्मानित


Capital Headline
प्रकाशित मिति : सोमबार, माघ २१ २०८१
2.1K
SHARES

२१ माघ काठमाडौं । बंगलादेशको ढाकामा भएको छैटौँ अन्तर्राष्ट्रिय विकेएसपी कप एथलेटिक्स च्याम्पियनसिपका पदक विजेता खेलाडीसहितको टोली नगदसहित सम्मानित भएका छन् ।माघ १५ र १६ गते भएको प्रतियोगितामा नेपालका पाँच खेलाडीले एक स्वर्ण, एक रजत र चार कांस्य पदक जितेका थिए ।अस्मिता भुजेलले एक हजार ५०० मिटर दौडमा स्वर्ण तथा आठ सय मिटर दौड र चार गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेकी थिइन् । अस्मिताले २० हजार रुपैयाँ पाइन् ।सैलेश श्रेष्ठले ११० मिटर हर्डल्समा रजत र ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेका थिए । उनले १५ हजार रुपैयाँ हात पारे ।

लङजम्प र ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जितेकी निशा घर्तीलाई १० हजार नगद प्रदान गरियो । पुकारजंग बस्नेतले एक हजार ५ सय मिटर दौड र सन्तबहादुर दराईंले ४ गुणा ४ सय मिटर मिक्स रिलेमा कांस्य जिते । दुवैले जनही ५ हजार नगद पुरस्कार पाए ।टिम व्यवस्थापक सुन्दरकेशर कार्कीलाई पनि पाँच हजार नगदसहित पुरस्कृत गरिएको छ ।

उनीहरूलाई संघीय सांसद कल्पना चौधरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष ध्रुव आचार्य, राखेपका पूर्व उपाध्यक्ष पिताम्बर तिम्सिना, राखेपका सदस्य सुवर्ण श्रेष्ठ, जनकसिंह धामी, हिमालकुमार श्रेष्ठ, प्रदेश खेलकुद विकास परिषद्, वाग्मती प्रदेशका पूर्वसदस्य–सचिव सूर्यलाल भण्डारी, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्रीलगायतले प्रशंसा पत्र र नगद प्रदान गरी सम्मान गरे ।एथलेटिक्स परिवार नेपाल र नेपाल एथलेटिक्स संघका केही पदाधिकारी मिलेर खेलाडीलाई सम्मान गरिएको अध्यक्ष खत्रीले जानकारी दिए ।