‘नरसिंहा अवतार’, चैत २९ मा प्रदर्शन नहुने


Capital Headline
प्रकाशित मिति : बुधबार, चैत्र ६ २०८१
3.3K
SHARES

६ चैत काठमाडौं । चलचित्र ‘नरसिंहा अवतार’ पूर्वनिर्धारित मितिमा नआउने भएको छ । राजेश हमालको कमब्याक भनेर प्रचार गरिएको चलचित्र चैत २९ मा नआउने निश्चित भएको निर्देशक दिवाकर भट्टराईले पुष्टि गरे । चैत २९ गते चलचित्र ‘पिताम्बर’ र ‘कर्मा’ रिलिज हुने दिन ‘नरसिंहा अवतार’ पनि रिलिज हुने तयारी थियो । तर, अब यो मितिमा नआउने पक्का भएको छ ।

“हाम्रो चलचित्रको काम पनि केही बाँकी रह्यो । अरु पनि त्यही मितिमा आउने भएपछि अहिलेलाई हामी तोकिएको मिति चैत २९ मा नआउने निर्णयमा पुगेका छौँ,” नरसिंहा अवतारका निर्देशक भट्टराईले  भने ।

अब सोलो रिलिज गर्ने उनले बताए । यही मितिमा आउने भन्ने निश्चित नभए पनि धेरै समय पछि भने नजाने उनले बताए । वैशाख र जेठभित्र रिलिज गर्ने उनको भनाइ छ ।

स्रोतका अनुसार राजेश हमालले अरुसँग जुध्नेगरी एउटै मितिमा नआउन सल्लाह दिएपछि निर्देशक पछि हटेका हुन् । राजेशले कुनै पनि चलचित्र नआउने मिति हेर्न सुझाएको बताइएको छ ।

“अब हामी अरु नभएको मिति तोक्ने छौँ । हामी पछि कोही आयो भन्ने छुट्टै कुरा हो । तर, हामी अरुसँग गएर जुध्दैनौँ,” दिवाकरले भने । चलचित्रमा राजेश हमाल, सरोज खनाल, राज कटुवाल, नीति शाह, उषा खड्गी, सनिषा भट्टराईलगायतको अभिनय छ । राजेश र सरोजको यो ३२ वर्षपछिको सहकार्य हो । राजेश हमाल भने आठ वर्षपछि ठूलो पर्दामा फर्किन लागेका हुन् ।