हिजोदेखि इस्यु भेटियो – प्रधानमन्त्री
१२ चैत काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई सरकारले हटाएकोप्रति संकेत गर्दै सरकारविरुद्ध लाग्नेहरुले ‘इस्यु भेटियो’ भन्दै हिँडेको बताएका छन् ।कांग्रेस नेतृ सुजाता कोइरालाद्वारा लिखित पुस्तकको विमोचन गर्दै उनले यस्तो बताएका हुन् ।
“इस्यु भेटियो हिजोदेखि भन्दै हिँडेका छन्,” उनले भने, “यही मौका हो । यही डोरीलाई अब नाग बनाउनुपर्छ भनेर लागेका छन् । त्यसको केही अर्थ छैन । हामीले देश र जनताको लागि इमान्दार भएर काम गर्नै हो ।”
सरकारले घिसिङलाई हिजो हटाएको थियो । उनले पूर्वराजाको आन्दोलनप्रति संकेत गर्दै यो देश बनाउन आफ्ना पुर्खाको पनि उत्तिकै योगदान रहेको बताए ।
“यो देश बनेको छ । जसले बनाओस्,” उनले भने, “हाम्रा पुर्खा पनि देशका लागि लडेका थिए । एक जनाका पुर्खाले लडे भन्ने होइन । हाम्रा पुर्खा के तमासा हेरेर बसेका थिए त्यसबेला ? फ्रन्टलाइनमा थिए मरेकाको मतलब छैन । पछि हुने बाँचे । एकजनाको खानदानलाई मानेर हिँड्ने सामन्ती चिन्तन हो । त्यसमा अब कोही जानै सक्दैन ।”