चिकित्सा अध्ययनका निम्ति नेपाल सही गन्तव्य – माल्दिभ्सकी मन्त्री
२७ चैत काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले माल्दिभ्सका चिकित्सकलाई नेपालमा स्नातकोत्तर पीजी शिक्षा उपलब्ध गराउने वातावरण बनाउन पहल भइरहेको बताएका छन् । संयुक्त राष्ट्रसंघीय जनसंख्या तथा विकास आयोगको ५८औँ सत्रमा सम्बोधनका लागि अमेरिकाको न्युयोर्कमा रहेका मन्त्री पौडेलले माल्दिभ्सका स्वास्थ्य राज्यमन्त्री खदिजा अब्दुल समाद अब्दुल्लासँग भेटवार्ता गरेका हुन् । सो क्रममा यसअघि त्यहाँका स्वास्थ्यमन्त्रीसँगको वार्तामा भएका कुराकानीका आधारमा अध्ययनका लागि समिति गठन गरेर काम भइरहेको मन्त्री पौडेलले जानकारी दिए ।
वार्ताका क्रममा स्वास्थ्य राज्यमन्त्री अब्दुल्लाले नेपाल र माल्दिभ्सबीचको सम्बन्ध सुमधुर रहेको र नेपालमा अनुकूल महसुस गर्ने भएकाले त्यहाँका विद्यार्थीलाई नेपालमा अध्ययनका लागि पठाउन आफूहरू इच्छुक रहेको बताइन् । उनले चिकित्सकका लागि नेपाल सही गन्तव्य रहेको बताएकी थिइन् । जवाफमा मन्त्री पौडेलले यथाशीघ्र तयारी पूरा गरेर अध्ययनका लागि वातावरण मिलाउने प्रतिबद्धता जनाए । मन्त्री पौडेलले नेपाल माल्दिभ्सका नागरिकलाई एमबीबीएस शिक्षा दिलाउनका लागि समेत तयार रहेको बताए ।
मन्त्री पौडेलले यसअघि गत असोज ७ गते इन्डोनेसियाको जाकार्तामा माल्दिभ्सका स्वास्थ्यमन्त्री अब्दुल्ला खलिलसँगको वार्तापछि माल्दिभ्सका विद्यार्थीलाई नेपालमा पीजी अध्ययन गराउन आवश्यक सुझाव दिन संयुक्त समिति गठन गरेका थिए ।
नेपालले वातावरण बनाएमा माल्दिभ्सले पीजी विद्यार्थी पठाउने बताएपछि मन्त्री पौडेलले नेपाल मेडिकल काउन्सिललाई चिकित्सा शिक्षाको द्विपक्षीय मान्यता तथा प्रवद्र्धनका उपायबारे सुझाव दिन आग्रह गरेका थिए । सोहीअनुसार काउन्सिलले दुवै देशको मापदण्डका आधारमा द्विपक्षीय सम्झौतापश्चात् विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउन सकिने आशयको प्रतिवेदन दिएको थियो ।
सोही आधारमा मन्त्री पौडेलले सम्झौताको तयारी गर्न नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा.डा. चोपलाल भुसाल संयोजकत्वको सात सदस्यीय समिति गठन गरेका थिए । सार्क राष्ट्रका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययन गराउने वातावरण बनाउन मन्त्री पौडेलले समितिमार्फत सुझावको अपेक्षा गरेका छन् ।विदेशी विद्यार्थी अध्ययन गर्ने वातावरण तयार पार्न सकिएमा नेपालका मेडिकल कलेजहरूको आयमा समेत वृद्धि हुने र मेडिकल शिक्षाको स्तर सुधार गर्न समेत सकिने मन्त्री पौडेलको विश्वास छ ।