तेस्रो इन्डो–नेपाल पोल ब्रेकमा नेपाल च्याम्पियन


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ १८ २०८२
1.2K
SHARES

१८ जेठ काठमाडौं । तेस्रो इन्डो–नेपाल युथ पोल ब्रेक च्याम्पियनसिपको उपाधि नेपालले जितेको छ । शनिबार काठमाडौंको गोकर्णेश्वरमा सम्पन्न च्याम्पियनसिपमा भारतलाई पराजित गर्दै नेपालले उपाधि हात पारेको हो ।नेपालका तर्फबाट गोरखा पोल ब्रेक संघ गोकर्णेश्वर शाखाले प्रतिनिधित्व गरेको थियो र उत्कृष्ट प्रदर्शन गर्दै गोकर्णेश्वर च्याम्पियन बनेको हो । गोकर्णेश्वर शाखा प्रारम्भिक चरणमा भारतको दोस्रो टिम अनुपस्थित रहेकाले ‘बाई’ पाएर सिधै फाइनलमा प्रवेश गरेको थियो ।

फाइनलमा गोकर्णेश्वरले नेपालकै दोस्रो टिम नेक्सस एकेडेमीलाई ३४–१० अंकले पराजित गर्दै उपाधि जित्यो ।त्यसअघि, सेमिफाइनलमा नेक्सस एकेडेमीले भारतको टिमलाई १८–७ को अन्तरले हराउँदै फाइनल यात्रा तय गरेको थियो ।च्याम्पियनसिप नेपाल पोल ब्रेक संघ केन्द्रको आयोजनामा र गोकर्णेश्वर शाखाको सह–आयोजनामा सम्पन्न भएको हो ।

गोकर्णेश्वर शाखाका संयोजक जगद मोक्तानले प्रतियोगिताबारे जानकारी दिएका थिए ।केन्द्रीय अध्यक्ष एवं च्याम्पियनसिप संयोजक उद्धवनारायण श्रेष्ठका अनुसार नेपालमा स्थापना भएको पोल ब्रेक खेललाई भारतमा विस्तार र प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।

त्यसैदिन सम्पन्न कबड्डी प्रतियोगितामा भने भारतले नेपालको टिमलाई १८–१७ को झिनो अन्तरले पराजित गर्दै उपाधि जितेको छ ।प्रतियोगिताका विजेता टिम तथा खेलाडीहरूलाई गोकर्णेश्वर नगरपालिकाका मेयर दीपक कुमार रिसाल र गोरखा पोल ब्रेक संघका प्रमुख सल्लाहकार रमेश महर्जनले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।च्याम्पियनसिपमा नेपालका दुई टिम र भारतको एक टिमको सहभागिता रहेको थियो ।