अमेरिकाबाट ५० नेपाली आज चार्टर्ड विमानमार्फत नेपाल ल्याइँदै


Capital Headline
प्रकाशित मिति : आइतबार, जेष्ठ २५ २०८२
1.2K
SHARES

२५ जेठ काठमाडौं । अमेरिकाले आज (जेठ २५, आइतबार) ४० देखि ५० जनासम्म नेपालीलाई नेपाल फिर्ता पठाइदिने भएको छ।  अवैधानिक रूपमा बसोबास गरेको भनी अमेरिकाले ती नेपालीलाई ‘डिपोर्ट’ (देशनिकाला) गरेको हो। अध्यागमन कार्यालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सूचना अधिकारी अञ्जन न्यौपानेले उनीहरूलाई चार्टर्ड विमानमार्फत ल्याइदिने जानकारी आएको बताए।

‘दिउँसो सवा ४ बजे आइपुग्ने जानकारी प्राप्त भएको छ। संख्या एकिन छैन, ४० देखि ५० जनासम्म हुन्छ भनिएको छ। वास्तविक संख्या अन्तिम समयमा मात्रै थाहा हुन्छ’, न्यौपानेले नेपालखबरसँग भने।

अमेरिकाले विमान नै चार्टर्ड गरेर नेपालीलाई फर्काएको यो दोस्रोपटक हो। यसअघि अमेरिकाले ८ नेपालीलाई डिपोर्ट गरेर आफ्नै विमानमा नेपाल ल्याइदिएको थियो।नेपाल ल्याइसकेपछि अध्यागमान जाँचपछि उनीहरूलाई प्रहरीको जिम्मा लगाउने अध्यागमनको तयारी छ। प्रहरीको मानव बेचविखन ब्युरोले सामान्य सोधपुछ गर्नेछ।

उनीहरू कसरी त्यहाँ पुगे, कसले पठायो भन्ने विषयमा जानकारी लिने र आफूलाई अवैध रूपमा त्यहाँ पुर्‍याउने व्यक्तिबारे जानकारी दिएर उजुरी गर्न तयार भएमा प्रहरीले अनुसन्धान पनि अगाडि बढाउने छ। अमेरिकामा डोनाल्ड ट्रम्प दोस्रोपटक राष्ट्रपति बनेपछि अवैध आप्रवासीविरुद्ध कडा नीति लिइएको छ।त्यसयता अमेरिकाले नेपाल, भारतलगायत देशका नागरिकलाई यसैगरी फिर्ता पठाइरहेको छ।