पश्चिमबाट आएको प्रणालीले काठमाडौंमा वर्षा, दुई घण्टा पानी पर्ने


Capital Headline
प्रकाशित मिति : शुक्रबार, जेष्ठ ३० २०८२
2.1K
SHARES

३० जेठ काठमाडौं । काठमाडौंमा केही समयदेखि वर्षा भइरहेको छ । काठमाडौंका अधिकांश स्थानमा वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । “काठमाडौंमा ठूलो वर्षा भइरहेको छ । अझै एक/दुई घण्टा वर्षा हुनेछ,” मौसमविद् शान्ति कँडेल भन्छिन्, “पश्चिमतिरबाट वर्षा गराउने प्रणाली आइरहेकाले केही समय यस्तै ठूलो पानी पर्नेछ ।”

भर्खरैबाट वर्षा सुरु भएकाले साढे ११ बजेसम्म काठमाडौंमा चार मिलिमिटर वर्षा भएको उनले जानकारी दिइन् । केही समयमै यो बढ्ने उनको भनाइ छ । अहिले काठमाडौं र आसपासका क्षेत्रसँगै गण्डकी, लुम्बिनी प्रदेशमा वर्षा भइरहेको मौसमविद् कँडेलले जानकारी दिइन् । उनका अनुसार काभ्रेमा पछिल्लो एक घण्टामा १५ मिलिमिटर वर्षा भइसकेको छ ।

“अहिले भइरहेको वर्षा एक/दुई घण्टापछि रोकिन्छ । त्यसपछि केही समयमा पुनः वर्षा सुरु हुनेछ,” उनी अगाडि थप्छन्, “अबको एक/दुई दिन मौसम यस्तै हुनेछ । बदली भएर वर्षा हुनेछ ।”

मौसमविद् विनोद पोखरेल बिहानैदेखि आधा पश्चिम नेपालमा वर्ष भैराखेको बताउँछन् । उनले भनेका छन्, “आधा पूर्वी नेपालमा अपराह्न र राति वर्षाको सम्भावना देखिन्छ ।”

आज कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, मधेस, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

हाल कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।