बीपी राजमार्गका विभिन्न तीन स्थानमा यातायात अवरुद्ध
३१ असार काभ्रेपलाञ्चोक । बीपी राजमार्गमा पहिरो र लेदोका कारण तीन स्थानमा सडक अवरुद्ध भएको छ । गएराति अवरुद्ध सडक आज बिहानदेखि खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ ।कार्यालयका अनुसार काभ्रेको रोशी गाउँपालिका–११ माम्तीस्थित सडकमा बाढी आई कटान गरी सडक अवरुद्ध भएको हो ।
उक्त राजमार्गको रोशी–९ स्थित खहरे खोलाको लेदो आई गएराति सडक अवरुद्ध भएको थियो ।सोही समयमा सोही वडाको बिरुवाडाँडामा खहरे खोलाको लेदो आएर सडक अवरुद्ध भएको कार्यालयका सूचना अधिकारी मीनबहादुर घलेले जानकारी दिए ।
उनका अनुसार स्थानीय जनप्रतिनिधिको समन्वयमा सडक खुलाउने प्रयास भइरहेको छ । यही असार २५ गते पनि मंगलटारको बिरुवाडाँडामा सडक अवरुद्ध भएको थियो ।उक्त राजमार्गअन्तर्गत रोशीका क्षेत्रका विभिन्न स्थानमा आइतबार साँझदेखि नै खोला वर्षासँगै लेदो झरेपछि सडक अवरुद्ध भएको थियो ।
रातभर जेसीभी प्रयोग गरी लेदो हटाएर सोमबार बिहान दुइतर्फी नै यातायात सञ्चालनमा ल्याइएको थियो । उक्त राजमार्गकै पिन्थलीमा यसअघि पनि पटकपटक सडक अवरुद्ध हुँदै आएको थियो ।यही असार १६ गते, असार २५ र २६ गते पनि पिन्थलीमा सडक अवरुद्ध भएको थियो ।