नेपाल–भारत सीमानाका बन्द गरिने
३२ असार बैतडी । भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलास्थित नेपाल–भारत सीमानाका बन्द गरिने भएको छ ।यही जुलाई २४ र २८ (साउन ८ र १२ गते) उत्तराखण्डमा पञ्चायत निर्वाचन हुँदै छ । उक्त निर्वाचनलाई मध्यनजर गरेर भारतसँग सीमा जोडिएका नाकाहरू बन्द गर्ने निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए ।
उनका अनुसार, दार्चुलाको पुलघाट नाका जुलाई २१ (साउन ५) बेलुकादेखि २४ (साउन ८) बिहानसम्म बन्द गरिनेछ ।यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ देखि १२ गतेसम्म बन्द गरिने उनले जानकारी दिए ।उक्त अवधिमा आकस्मिक रूपमा नाका खोल्नुपरेमा दुवै देशको आपसी सहमतिमा खोल्न सकिने जनाइएको छ ।