यी नदीहरुमा आज आकस्मिक बाढीको सम्भावना


Capital Headline
प्रकाशित मिति : सोमबार, साउन १९ २०८२
1.6K
SHARES

१९ साउन काठमाडौं। देशका विभिन्न स्थानमा रहेका नदीहरुमा आज आकस्मिक बाढीको मध्यम जोखिम रहेको छ।जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जारी गरेको सूचनाअनुसार आज सिन्धुपाल्चोक, चितवन, मकवानपुर, रुकुम पश्चिम, दाङ, बाँके, बर्दिया, जाजरकोट, डोल्पा, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहने पूर्वानुमान छ।

त्यस्तै आज इलाम, झापा, सर्लाही, रौतहट, बारा, पर्सा, ताप्लेजुङ, संखुवासभा, तेह्रथुम, पाँचथर, स्याङ्जा, तनहुँ, रुपन्देही, कपिलवस्तु, अर्घाखाँची, धादिङ, नुवाकोट, काठमाडौँ, ललितपुर, भक्तपुर, काभ्रेपलान्चोक, सिन्धुली, रसुवा, दोलखा, पर्वत, म्याग्दी, डडेल्धुरा, बैतडी र आसपासका जिल्ला भई बहने स–साना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको मध्यम सम्भावना रहने पूर्वानुमान छ।

आज बिहानको मापनअनुसार कर्णाली र महाकाली नदीहरुको बहाव सतर्कता आसपास रहेको छ। कोशी, नारायणी, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र कन्काई नदीहरुको बहाव सतर्कता तहभन्दा तल रहेको महाशाखाले जनाएको छ। बाढीको सम्भावना भएका नदी आसपासका क्षेत्रमा बसोबास गर्नेहरुलाई महाशाखाले सतर्कता अपनाउन आग्रह गरेको छ।

महाशाखाका अनुसार मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान, कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।