रेवान पोखराका ३१ वर्ष– पर्यटन प्रवर्धनमा ठूलो योगदान


Capital Headline
प्रकाशित मिति : शुक्रबार, भाद्र २० २०८२
2.2K
SHARES

२० भदौ काठमाडौं । रेष्टुरेन्ट एन्ड बार एशोसियसन अफ नेपाल (रेवान) पोखराले बिहीबार ३१औँ वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।पोखराका मेयर धनराज आचार्यले एक समारोहका बीचमा साधारणसभाको उद्घाटन गर्दै रेवान पोखराले पोखरा र यसक्षेत्रको मात्रै नभइ नेपालकै पर्यटन प्रवर्धनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।३१ वर्षअघि पोखराका रेष्टुरेन्ट व्यवसायीलाई एकै मञ्चमा उभ्याउने थलोको रुपमा रेवानको स्थापना गरिएको थियो । नेपालको पाँचतारे होटलका पहिलो जनरल म्यानेजरसमेत रहेका किशोर पाण्डेले पोखरामा पनि रेवानको आवश्यकता रहेको र त्यसले दीर्घकालीनरुपमा फाइदा पुग्ने सुझाव दिएका थिए ।

उनकै सुझावलाई मनन् गर्दै हरिप्रसाद गुरुङको अध्यक्षतामा ३१ वर्षअघि रेवानको स्थापना गरिएको थियो । जसमा वरिष्ठ उपाध्यक्ष गणेश भट्टराई रहेका थिए । आफूभन्दा ‘सिनियर’लाई अध्यक्ष बनाएर संस्था गठन गर्न भट्टराई तयार भएको भन्दै साधारणसभामा उनको प्रशंसा गरिएको थियो ।साथै पोखराको पर्यटन प्रवर्धनमा रेवानको भूमिका, त्यसको स्थापनामा सहयोग पुर्‍याएको भन्दै पाण्डेलाई सम्मान गरिएको रेवान पोखराका महासचिव वीरेन्द्र शेरचनले जानकारी दिए ।“उहाँको भूमिकाको प्रशंसा गर्दै हामीले सम्मान गरेका हौँ,” शेरचनले भने ।

टेवल टेनिस र क्रिकेटका अन्तर्राष्ट्रियस्तरका खेलाडीसमेत रहेका पाण्डे ७८ वर्षका छन् । उनी हाल पनि सक्रिय रहेका छन् ।रेवानको स्थापनापछि पोखराको पर्यटन व्यवसायमा फड्को मारिएको उनले जानकारी गराए ।“हामीले २६ वटा सडक महोत्सव सम्पन्न गरिसकेका छौँ,” शेरचनले भने, “अब २७औँ महोत्सवको तयारीमा छौँ । अंग्रेजी नयाँ वर्षमा सडक महोत्सवको ब्रान्ड बनिसकेको छ । अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेको छ । नेपालकै ठूलो सडक महोत्सव हो यो । विश्व पर्यटन दिवसको दिनमा मिनि सडक महोत्सव गर्छ ।”

बिहीबार पोखरामा सम्पन्न भएको साधारणसभाको उद्घाटन समारोहमा मेयर धनराज आचार्यले पनि सडक महोत्सवको प्रशंसा गर्दै अन्तर्राष्ट्रिय ब्रान्ड बनिसकेकाले यसलाई निरन्तरता दिनुपर्ने बताएका थिए ।पोखरा भ्रमण वर्ष २०२५ हाल जारी रहेकोले पोखरामा हुने कुनै पनि खेल गतिविधिदेखि मेला एवम् महोत्सवलाई महानगरले प्रवद्र्धन गर्दै आएको उनले बताए ।गण्डकी प्रदेशका उद्योग तथा पर्यटन सचिव ईन्द्रप्रसाद बस्यालले प्रदेशको पर्यटन क्षेत्रको प्रवद्र्धन गर्न पर्यटन ऐनको तयारी गरिएको बताए ।

उक्त ऐनको हाल मस्यौदा ल्याएको उनले जानकारी दिए । कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले हामी सबैजना कानुनमा बाँधिएको बताउँदै रेवान र यसले गर्ने कार्यक्रममा शान्ति सुरक्षा प्रदान गर्न तयार रहेको बताइन् ।रेवान केन्द्रका निवर्तमान अध्यक्ष अरनिको राजभण्डारीले होटल तथा रेष्टुरेन्टले एमआरपीमाव पानी तथा पेय पदार्थ बिक्री गर्न नसकेको बताए । उनले यसले खुला बजार विपरीत भएको पर्यटकले पनि खर्च गर्न सक्ने अवस्थामा पनि बिक्री गर्दा कारबाहीमा परिने हो कि भन्ने डर व्यवसायीमा रहेको बताए ।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले मासिक दुई/तीन वटा कार्यक्रम गरेर पोखरा पुगेका पर्यटकको बसाइ लम्ब्याउने रणनीति अख्तियार गर्नुपर्ने धारणा राखे ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पोखराको पर्यटन प्रबद्र्धन गर्ने विभिन्न कार्यक्रम आवश्यक रहेको बताउँदै सबै त्यसमा लाग्नुपर्ने धारणा राखे । पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारीले भिलेज पर्यटन प्रबद्र्धनमा जोड दिएका थिए ।उनले रेवानले पनि यसमा काम गरेको बताए । द्वितीय उपाध्यक्ष विकास भट्टराईले पोखरा पर्वको सहर भएको बताए । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलले पोखरामा रेवानको स्थापनापछि लेकसाइड निरन्तर चहलपहल हुँदै गएको बताएका थिए ।उनले बढी चिसो र वर्षाको समयमा बन्द गर्नुपर्ने अवस्थामा पुगेका रेष्टुरेन्टहरु पनि अहिले बाह्रैमहिना सञ्चालनमा आएको धारणा राखेका थिए ।