कांग्रेस–एमाले गठजोड, दोस्रो भू–राजनीति – उपमहासचिव पुन
५ असोज काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर सरकार बनाएपछि ‘जेनजी’ आन्दोलनको पृष्ठभूमि तयार भएको जिकिर गरेका छन् ।दुई ठूला दल सम्मिलित केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाह र विकास निर्माणका कामलाई कम तथा बिचौलिया र स्वार्थ समूहको सेवालाई बढी प्राथमिकतामा राखेका कारण जन्मिएको असन्तोष जेनजी विद्रोहमार्फत विस्फोट भएको उनले टिप्पणी गरे ।
आफूहरूले पटक–पटक जनताको सेवामा लाग्न दबाब तथा ध्यानाकर्षण गराउँदा समेत बेवास्ता गरिँदाको खराब परिणाम कांग्रेस–एमालेले मात्र नभई सिंगो मुलुकको भोग्नुपरेको उनको भनाइ थियो ।मुलुकको धरोहरका रूपमा रहेका राष्ट्रपति भवन, सिंहदरबार, संसद्, सर्वोच्च अदालतसहित देशभरका सरकारी कार्यालय आन्दोलनका क्रममा खरानी पारिएको भन्दै उनले त्यसको नैतिक जिम्मेवारी कुशासनका मतियारले लिनुपर्ने तर्क गरे ।
जेनजी आन्दोलनको पहिलो र निर्णायक कारण मुलुकको आन्तरिक राजनीतिक, सामाजिक र आर्थिक विषय भएको उनले बताए । उनले सहायक कारणका रूपमा भू–राजनीति पनि रहेको उल्लेख गरे ।“भ्रष्टाचार, अनियमितता, कुशासन र बिचौलिया वर्गको स्वार्थमा नलागेर मुलुक र जनताको स्वार्थमा केन्द्रित हुन प्रमुख प्रतिपक्षका हैसियतमा हामीले संसद्भित्र र बाहिरबाट एक वर्षसम्म पटक–पटक सरकारको ध्यानाकर्षण गरायौँ, दबाब दियौँ,” पार्टीसम्बद्ध जनप्रगतिशील मञ्च जापानका पदाधिकारीसँगको भर्चुअल अन्तरक्रियाका क्रममा पुनले भने ।
उनले अगडि भने, “तर, सत्तामा बसेका कांग्रेस र एमालेले सुनेनन् । दुईतिहाइको शक्ति पूरै स्वार्थ समूहको सेवामा समर्पित भयो । हामीले निकट विगतका बंगलादेश, श्रीलंकाजस्ता मुलुकमा जस्तो खराब अवस्था आउन सक्नेबारे भनेकै हौँ । हाम्रो जिम्मेवारीपूर्ण खबरदारीलाई अन्देखा गरियो र अर्कै अर्थमा प्रचार गर्ने काम पनि भयो । त्यही पृष्ठभूमिमा बढेको असन्तोष जेनजी आन्दोलनको रूपमा प्रकट भयो ।”
जेनजी आन्दोलनको मौका छोपेर प्रतिगामी र प्रतिक्रियावादी शक्तिले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेताहरूका निवास तथा पार्टी कार्यालयमा आगजनी र लुटपाट गरेको उनले बताए । उनीहरूले नै माओवादी र अरू दल उस्तै भन्ने स्थापित गराउने कोसिस गरिरहेको भन्दै पुनले आपत्ति जनाए ।
पुनले अमेरिका, रुस, चीन र भारतजस्ता शक्तिराष्ट्रबीच विद्यमान शक्तिसंघर्षको बाछिटा पनि नेपालमा परेको उल्लेख गरे । अत्यन्तै तरल अवस्थामा रहेको देशको विद्यमान अवस्थामा हुन सक्ने भू–राजनीतिक चलखेललाई निरुत्साहित गर्न तथा राष्ट्रिय स्वाधीनता तलमाथि हुन नदिन मुलुकका सबै पक्षबीच सहकार्य र एकतामा उनले जोड दिए ।फरक प्रसंगमा उनले जेनजी आन्दोलनले पार्टीका विद्यमान नेतृत्व, संरचना तथा राज्यका निकायमा आमूल रूपान्तरण जरुरी रहेको जबर्जस्त सन्देश दिएको औँल्याए ।