राष्ट्रिय स्वाधीनता खतरामा – प्रचण्ड


Capital Headline
प्रकाशित मिति : बिहिबार, असोज ९ २०८२
1.5K
SHARES

९ असोज काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनता खतरामा परेको र इतिहासकै गम्भीर परिस्थिति सिर्जना भएको बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले माओवादीको काँधमा ऐतिहासिक जिम्मेवारी आइलागेको बताएका छन् ।प्रचण्डको प्रतिवेदनमा समेटिएका विषयबारे जानकारी दिँदै पार्टी प्रवक्ता अग्निप्रसाद सापकोटाले भने, “नेतृत्वका सम्बन्धमा सुस्पष्ट वैज्ञानिक विचार, राजनीति र प्रतिज्ञाका आधारमा सुनिश्चित गर्ने तयारी छ । अध्यक्ष कमरेडले नेतृत्वभन्दा पनि पार्टीका लागि जीवनको अन्तिम घडीसम्म समय दिने उल्लेख गर्नुभएको छ । सामन्तवादविरुद्ध पृथ्वी नै थर्किने गरी जनयुद्ध गरेको माओवादी केन्द्र सबैखाले प्रतिक्रियावादी र दलाल पुँजीवादविरुद्ध आवाज उठाउँदै आएको छ ।”

प्रवक्ता सापकोटाका अनुसार, समाजवादी मोर्चाका दलहरूबीच पार्टी एकताका विषयमा विचार मिल्नेसँग सघन छलफल भइरहेको छ । बृहत् वामपन्थी मोर्चालाई पनि अगाडि बढाउने योजना माओवादीले सुरुवात गरिसकेको उनको भनाइ छ ।

गत भदौ २३ र २४ गतेको आन्दोलनमा सहभागी जेनजी नेतृत्वसँग पनि वैचारिक, राजनीतिक संवादलाई अघि बढाउने माओवादी केन्द्रको रणनीति रहेको उनले बताए । पार्टीभित्रका र बाहिर रहेका स्वतन्त्र जेनजीको माग र आन्दोलनमा खेलेका भूमिकालाई स्थापित गराउनेबारे पनि छलफल अघि बढाउने अध्यक्ष प्रचण्डको प्रतिवेदनमा छ ।पछिल्लो समय पार्टीमा वर्गदृष्टिकोण कमजोर बनेको भन्दै प्रचण्डले कार्यशैली र आचरणमा खोट देखिएको बताएका छन् । समीक्षा र आत्मालोचनाले मात्र नहुने भन्दै उनले शल्यक्रियाकै स्तरमा गहिराइमा गएर कमीकमजोरी खोतलेर अघि बढ्ने बताएका छन् ।माओवादी केन्द्रीय कमिटी बैठकमा समूहगत छलफल चलिरहेको छ ।