विशेष महाधिवेशनका निम्ति असोज २४ भित्रै हस्ताक्षर गर्नुस् –  महामन्त्री शर्मा


Capital Headline
प्रकाशित मिति : मंगलबार, असोज २१ २०८२
1.4K
SHARES

२१ असोज काठमाडौं । नेपाली कांग्रेसका  महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको विशेष महाधिवेशन माग गर्न यही असोज २४ गतेभित्रै हस्ताक्षरका निम्ति आह्वान गरेका छन् । मंगलबार (असोज २१) उनले भिडियो सन्देशमा जिल्ला–जिल्लाबाट महाधिवेशन प्रतिनिधिले हस्ताक्षर गर्ने कि नगर्ने भनेर सोधिरहेको उल्लेख गरेका छन् ।

“आफैँले टेलिफोन गरेर कसैलाई पनि हस्ताक्षर गर्नुस् है भनेको छैन । तपाईं कसैले सोध्नुभएको छ, बकाइदा हस्ताक्षर गर्नुस्,” उनले भनेका छन् ।विशेष महाधिवेशन विधानविपरीत हुन्छ कि ? भन्ने प्रश्न आएको भन्दै उनले विधानको व्यवस्था लागु गर्दा पार्टी कमजोर नभई बलियो हुने बताएका छन् ।

असोज २५ गते नै विशेष महाधिवेशनका निम्ति केन्द्रीय कार्यालयमा निवेदन दर्ता गरिने उनले जनाएका छन् । “हस्ताक्षर नै गर्न चाहनुहुन्छ भने २४ गतेभित्र गर्नुस् न । साथीहरूले भन्नुभएको छ– हामी केन्द्रीय कार्यसमितिको बैठकभन्दा एक दिनअघि नै असोज २५ गते हस्ताक्षर गरेर विशेष महाधिवेशनका लागि केन्द्रीय कार्यालयमा निवेदन दर्ता गर्न चाहन्छौँ । सँगसँगै उभिन चाहनुभएको छ भने साइत केका लागि हेर्नुहुन्छ ?,” उनले भनेका छन् । शर्माले भिडियोमा सात प्रश्न र जवाफ दिएका छन् । कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक असोज २६ गतेका निम्ति तोकिएको छ ।