नेतृत्व छाड्दिनँ – अध्यक्ष ओली
२३ असोज काठमाडौं । जेनजी आन्दोलनपछि एक हप्ता सैनिक सुरक्षामा बसेर निस्केका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि पद छाड्न दबाब बढ्दै गएको छ। तर, उनले अहिलेको अवस्थामा आफू सबै हिसाबले सक्षम रहेकोले अध्यक्ष नछोड्ने प्रस्ट पारेका छन्।सार्वजनिक कार्यक्रममा सहभागी नभए पनि केही दिनयता ओलीले प्रदेश र जिल्लाका अध्यक्ष र इन्चार्जको धारणा बुझ्न र आफ्ना कुरा राख्न भर्चुअल संवाद गरिरहेका छन्।
केन्द्रीय कमिटी बैठकका लागि सुझाव माग्न संवाद गरेको भनिए पनि उनले आफूमाथि उठिरहेको राजीनामाको विषयबारे धारणा बुझिरहेका छन्। कोसी प्रदेशबाट सुरु भएको संवाद बुधबार उनले सुदूरपश्चिमका नेतासँग गरेर टुंग्याएका छन्।
बाग्लुङ जिल्ला अध्यक्ष हिरा केसीले आउँदै गरेको केन्द्रीय कमिटीको बैठकको सन्दर्भमा ओलीसँग भर्चुअलमा छलफल भएको बताए।‘सक्रियताले दिन्नँ, इमान्दारीले दिन्नँ, कुनै हिसाबले पनि दिन्नँ, जबसम्म म सक्छु,’ ओलीले गण्डकीका नेताहरूसँगको भर्चुअल संवादमा भने, ‘जुनदिन सक्तिनँ अनि छोडिदिन्छु।’पार्टीभित्र यतिबेला नचाहिँदो हल्लाखल्ला मच्चाइएको भन्दै उनले असन्तुष्टि जनाएका छन्।