एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाले हुन्छ – अध्यक्ष ओली
२९ असोज काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमाले सधैँका लागि सरकारबाट हट्यो भन्ने भ्रम नपाल्न चेतावनी दिएका छन् ।बुधबारबाट ललितपुरको जावलखेलमा सुरु भएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले एमालेले मुलुकको राजनीतिक, आर्थिक क्षेत्रको नायकत्व गरिरहेको पार्टी भएको दाबीसमेत गरे ।
उनले मुलुकमा अगुवाइ गर्न सक्षम पार्टीको रूपमा एमाले रहेको व्यवहारले नै पुष्टि गरेको जिकिर गरे ।“कसैले अब सधैँका लागि एमाले सरकारबाट हट्यो भन्ने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले राजनीतिक आर्थिक नायकत्व दिइरहेको पार्टी हो । व्यवहारले यसको पुष्टि गरेको थियो, देखाएको थियो । विश्व बैंकको हालै प्रकाशित तथ्यांकले पनि एमाले सरकारमा नहुँदा मुलुक कसरी कमजोर हुन्छ भन्ने पुष्टि भयो,” उनले भने ।अध्यक्ष ओलीले आफू नेतृत्वको सरकारले देश र जनताको पक्षमा अडान लिएपछि आक्रमण हुने गरेकोसमेत बताए ।