वर्षाले धानबालीमा क्षति भएपछि किसान चिन्तित


Capital Headline
प्रकाशित मिति : मंगलबार, कार्तिक १८ २०८२
1.9K
SHARES

१८ कात्तिक काठमाडौं । गत असोजको अविरल वर्षापछि रौतहटको बकैया नदी र बागमती नदीले बाँध कटान गरेर पसेको बाढीले धानबालीमा क्षतिको आकलन सार्वजनिक भएको छ । कृषि ज्ञान केन्द्रका अनुसार १७–१९  असोजसम्म आएको अविरल वर्षाको बाढीले जिल्लामा १७ हजार ६३८ हेक्टर खेतमा लगाएको धानबालीमा क्षति पुर्‍याएको छ ।

जिल्लामा बाढीले १७ हजार ६३८ हेक्टर खेतको धानबाली, १ हजार ८०४ हेक्टर क्षेत्रफलको उखुबाली, ६८५ हेक्टरको तरकारी, ४०७ हेक्टरको फलफूलबाली र ५०० हेक्टर अन्य बालीमा क्षति पुर्‍याएको कृषि ज्ञान केन्द्रका निमित्त कार्यालय प्रमुख सुरेन्द्रप्रसाद कुर्मीले जानकारी दिएजिल्लाका १८वटै पालिकासँग समन्वय गरेर क्षतिको विवरण सङ्कलन गरिएको उनले बताए । बाढीले सबैभन्दा बढी राजदेवी, परोहा, राजपुर, माधव नारायण, गढीमाई, इशनाथ, मौलापुर नगरपालिका र दुर्गाभगवती गाउँपालिकालगायतमा क्षति पुर्‍याएको उनले जानकारी दिए ।

क्षतिको विवरण जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको र राहतका लागि कुरा भइरहेको उनले जानकारी दिए । जिल्लाको करिब ५१ हजार हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३८ हजार ५०० हेक्टरमा धानबाली लगाइएकामा बाढीले १ हजार ६३८ हेक्टर खेतको धानबालीमा क्षति पुर्‍याएको उनको भनाइ छ ।

जिल्लामा ७४ हजार मेट्रिक टन धान उत्पादन घट्ने  अनुमान गरिएको छ । यसैबीच दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु सिंहले किसानले पाउनुपर्ने राहत रकम चाँडोभन्दा चाँडो उपलब्ध गराउन माग गरेका छन् । बाढीले रौतहटका करिब साढे ४०० घरपरिवार विस्थापित भएका थिए ।

त्यसैगरी, पछिल्लोपटक आएको वर्षाले धानबालीमा क्षति पुर्‍याएको छ । भित्र्याउने बेलाको धान वर्षाले भिजाएपछि किसान चिन्तित बनेका हुन् । वर्षाले किसानले धान भित्र्याउन नपाएको बृन्दावन– १ का किसान शिवमङ्गल पटेलले गुनासो गरे । खेतमा काटेर राखेको धान सबै वर्षाले डुबाएको छ ।