सवारी दुर्घटनामा चारजनाको मृत्यु
१६ पुस काठमाडौं । देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी चारजनाको मृत्यु भएको छ । रुपन्देही, सैनामैना नगरपालिका–५ दोघरा चोकस्थित सडकमा लु २ ख २४६५ नम्बरको टिपरको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । मृत्य हुनेमा सोही ठाउँ बस्ने ३५ वर्षीय ठगी प्रसाद चौधरी रहेका छन् । टिपर चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
यसैगरी, तिलोत्तमा नगरपालिका–१५ मधवलियास्थित सडकमा बीआर २८ जीबी ०६७३ नम्बरको टेलरले लु ८५ प ४३९० नम्बरको मोटरसाइकललाई मंगलबार साँझ ठक्कर दिँदा मोटरसाइकलमा सवार सियारी गाउँपालिका–७ बस्ने ५० वर्षीय लालु केवटको मृत्यु भएको छ ।साथै, दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । टेलर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै, मोरङ, विराटनगर महानगरपालिका–१४ स्थित सडकमा बीआर ३८ एम ११७८ नम्बरको स्कुटर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा स्कुटरचालक भारत अररिया छोटी मस्जिद बस्ने २५ वर्षीय मो. राजाको मृत्यु भएको छ ।दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ ।
सिन्धुलीमा पिकअप गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । दुधौली नगरपालिका–४ कमलाखोचस्थित सडकमा प्र १–०२–००२ च ५४२५ नम्बरको गाडीले सोही नगरपालिका–१ गिजिह्यानी बस्ने ६० वर्षीय मोहन धामीको बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ ।गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । साथै, यी दुर्घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।