काठमाडौं विमानस्थलको अनुभव सुखद् छैन – पर्यटनमन्त्री सिन्हा


Capital Headline
प्रकाशित मिति : बुधबार, पौस १६ २०८२
3.3K
SHARES

१६ पुस काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिल कुमार सिन्हाले काठमाडौं विमानस्थलबाट यात्रा गर्दा आफ्नो अनुभव सुखद् नरहेको बताएका छन् । उनले दुई महिनाभित्र सबैले महसुस गर्ने गरी परिवर्तन ल्याउन निर्देशन समेत दिए ।नेपाल नागरिक उड्डयन प्राधिकरणको २७ औं वार्षिकोत्सवलाई बुधबार सम्बोधन गर्दै मन्त्री सिन्हाले विमानस्थलमा कस्मेटिक सुधार भए पनि सामान्य मान्छे र पर्यटकका रुपमा अनुभव सुखद नभएको धारणा राखे ।मन्त्री सिन्हाले भने, ‘काठमाडौं विमानस्थलबाट यात्रा गर्दा मेरो अनुभव सुखद रहेन, कस्मेटिक सुधार भयो होला, सामान्य मान्छे र पर्यटकका रुपमा अनुभव सुखद छैन ।’ उनले असहज अनुभूति आफैंले भोगेको भन्दै ससाना कुरालाई सम्बोधन गर्न चुकेको टिप्पणी गरे ।

विमानस्थलमा परिवर्तन र सुधार जरुरी रहेको भन्दै उनले हवाई सुरक्षामा समेत दत्तचित्त भएर काम गर्न निर्देशन दिए । अब आफूसँग मन्त्रीका रुपमा धेरै समय नरहेको बताउँदै उनले भने, ‘यो अवधिमा अब कुनै दबाबविना काम गर्नुस, बाहना नबनाउनुस्, तपाईंलाई चुनौती भयो, दुई महिनामा एभियसन सेफ्टीमा, यो दुई महिना काफी छ, म काम चाहन्छु, तपाईं खटिनुस् ।’

‘दुई महिनामा केके गरेर देखाइदिन सक्नुहुन्छ, निर्वाचन पछि आउने नयाँ सरकारलाई काम थालेर देखाइदिनुस्,’ मन्त्री सिन्हाले भने ।नेपाल नागरिक उड्डयन प्राधिकरणको लेखा र सम्पत्ति सुरक्षामा पनि पनि उनले सार्वजनिक असन्तुष्टि जनाए । कालो सूची र नयाँ विमानस्थल नियमित चल्ने योजना प्राप्त गर्न नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे ।

भैरहवा र पोखरामा विमानस्थलमा अन्तर्राष्ट्रिय उडानको सम्भावना खोज्ने काममा अग्रसरता लिन उनले निर्देशन दिए । उनले भने, ‘भैरहवा र पोखरा विमानस्थलमा भएको लगानी त्यसले प्राप्त गर्ने राजस्वले उठाउँछ कि उठाउन्न, त्यसले प्राधिकरणको सफलता मापन गर्छ ।’