बन्द भयो ‘ब्लू बस’ सेवा


Capital Headline
प्रकाशित मिति : शनिबार, पौस १९ २०८२
2.5K
SHARES

१९ पुस चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति तथा चितवन क्षेत्र नं. २ का निलम्बित पूर्व सांसद रवि लामिछानले निकै तामझामका साथ चितवन २ मा सञ्चालन गरेको ‘ब्लू बस’ बन्द भएको छ ।लामिछानेले २०८० साउनबाट महिलालाई लक्षित गरी कालिका नगरपालिका हुँदै भरतपुर तथा नारायणगढ क्षेत्रमा चलाएको ‘ब्लू बस’ बन्द डेढ महिना अगाडिदेखि बन्द भएको हो ।

पहिले ना५ख ३१३८ नम्बरको ३२ सिटे बस मासिक एक लाख ३५ हजार भाडा तिर्ने गरी सञ्चालन गरिएकोमा पछि आफैंले बस किनेर सञ्चालनमा ल्याएका थिए । पहिले सञ्चालन गरिएको ब्लू बसलाई गैरकानुनी रुपमा निलो रङ लगाएको भन्दैं आलोचना भएको थियो ।

स्रोतका अनुसार गाडी भाडामा लिएर चलाउँदा खर्च बढी आएको भन्दै उनको सचिवालयले बस किनेको थियो । ७ लाख रुपैयाँमा किनेको बस पनि सधैं बिग्रेपछि हैरान भएर डेढ महिना अगाडि बन्द गरेर थन्काइएको छ ।

अब कबाडीमा दिने वा के गर्ने भन्ने बारेमा सल्लाह हुँदै गरेको स्रोतको भनाइ छ । बसको तेलको खर्च तथा अन्य मर्मतको खर्चको रकम ठूलो भएकोले बस बन्द गर्नु परेको रास्वपा स्रोतले जनाएको छ । तिर्नुपर्ने दायित्व रकम चितवनका विभिन्न व्यक्तिसँग उठाएर बुझाइएको छ । अब फेरि बस सञ्चालन गर्ने वा सधैंका लागि बन्द गर्ने भन्ने अन्योल छ । लामिछानेले भरतपुर ११ वाइपास सडकको गुम्बाचोक नजिकै खोलेको सचिवालय पनि खासै चलेको छैन ।