३.५ डिग्रीमा झर्यो काठमाडौंको तापक्रम
२१ पुस काठमाडौं । काठमाडौं उपत्यकाको तापक्रम आज (पुस २१) वर्षकै कम मापन गरिएको छ । काठमाडौंसहित देशभरको तापक्रम क्रमिक रूपमा घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।सोमबार बिहान पौने ९ बजे काठमाडौंको न्यूनतम तापक्रम ३.५ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौंमा यस वर्षको मापनमा यो कम तापक्रम हो । आउँदा दिन तापक्रम थप घट्ने सम्भावना हुन्छ ।
सोही समयमा काठमाडौंको न्यूनतम तापक्रम आइतबार (पुस २०) ४, शनिबार (पुस १९) ४.५ डिग्री थियो ।सोमबार बिहान महाशाखाले सार्वजनिक गरेको देशका १७ स्थानको विवरणमध्ये जुम्लाको न्यूनतम तापक्रम सबैभन्दा कम –६.३ डिग्री छ । जुम्लाको न्यूनतम तापक्रम आइतबार पनि –६.३, शनिबार –४.९ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ । यस दिन डडेलधुराको न्यूनतम तापक्रम २.१, ओखलढुंगाको ४.३, दिपायलको ४.४, नेपालगन्जको ५.५, घोराहीको ५.७, धनगढीको ६.२, ताप्लेजुङको ६.३, धनकुटाको ७.१, भैरहवाको ७.४ पोखराको ७.९ डिग्री मापन गरिएको महाशाखाले जनाएको छ ।