लेबनानको नेपाली शान्ति सैनिक रहेको ठाउँमा आक्रमण


Capital Headline
प्रकाशित मिति : आइतबार, चैत्र १ २०८२
1.3K
SHARES

१ चैत काठमाडौं । संयुक्त राष्ट्रसंघको शान्ति मिसनका लागि लेबनानमा खटिएको नेपाली सैनिकको एक क्याम्पमा हमला भएको छ । समाचार एजेन्सी एएफपीका अनुसार नेपाली शान्ति सैनिकको बटालियन हेडक्वाटरमा हमला भएको हो ।शुक्रबार बेलुका भएको हमलाबाट नेपाली शान्ति सैनिकहरु भने सुरक्षित रहेको बताइएको छ । नेपाली सेनाका प्रवक्ता राजाराम बस्नेतले नेपाली शान्ति सैनिकहरु सुरक्षित रहेको बताए ।

उनले भने, ‘नेपाली शान्ति सैनिक रहेको माइस–अल–जबालमा केही विस्फोट भएको हो । त्यहाँ एक घरमा क्षति पुगेको छ । नेपाली शान्ति सैनिकका व्यक्तिगत केही सामानहरुमा क्षति पुगेको छ । तर मानवीय क्षति भएको छैन ।’

लेबनानभर ५०० बढी नेपाली शान्ति सैनिक तैनाथ छन् । त्यहाँको खटनपटन दक्षिण लेबनानमा अवस्थित बटालियन हेडक्वाटरले गर्छ । बटालियन हेडक्वाटर इजरायलसँगको सिमाना नजिक छ । त्यहाँको फोर्स कमाण्डर उपरथी मानबहादुर थापा छन् । आक्रमणको बेला सबै शान्ति सैनिकहरु बंकरभित्र रहेकाले सुरक्षित छन् । आक्रमणको समयमा हेडक्वाटरमा कति संख्यामा शान्ति सैनिक थिए भन्ने यकिन भएको छैन । ‘त्यहाँ अदलीबदली, आउजाउ भइरहन्छ त्यसैले आक्रमणको बेला कति शान्ति सैनिक थिए भन्ने यकिन छैन,’ सैनिक प्रवक्ता बस्नेतले भने ।

लेबनानको सरकारी समाचार संस्था नेशनल न्युज एजेन्सीले इजरायलको गोला नेपाली शान्ति मिसनको हेडक्वाटरमा खसेको जिकिर गरेको छ । ‘इजरायली गोला माइस–अल–जबाल शहरमा रहेको संयुक्त राष्ट्रसंघीय अन्तरिम बल (यूएनआईएफआईएल) अन्तर्गत नेपाली बटालियनको मुख्यालयभित्र खसे,’ एजेन्सीले भनेको छ ।

तर कहाँबाट आक्रमण भयो भन्ने यकिन नभइसकेको नेपाली सेनाका प्रवक्ता बस्नेतले बताए । उनका अनुसार त्यसको अनुसन्धान भइरहेको छ । ‘गोलाबारी कहाँबाट भयो भन्ने यकिन छैन, त्यसको छानबिन हुन्छ,’ उनले आइतबार बिहान अनलाइनखबरसँग भने ।

युएन महासचिवले भने– द्वन्द्व रोकियोस्

संयुक्त राष्ट्रसंघ (युएन)का महासचिव गुटेरेस लेबनान भ्रमणमा रहेका बेला शान्ति सैनिकको क्याम्पमा समेत विस्फोट भएको हो ।महासचिव गुटेरेसले शान्ति सैनिकलाई समेत निशाना बनाउनु अस्वीकार्य भएको बताए । उनले हाल चर्किएको द्वन्द्व तुरुन्तै रोकिनुपर्ने पनि बताए ।

उनले शान्ति बहालका लागि विश्व समुदायलाई अपिल समेत गरेका छन् । ‘अन्तर्राष्ट्रिय समुदायलाई मेरो सन्देश एकदमै स्पष्ट छ– आफ्नो सक्रियता बढाउनुस्,’ उनले भनेका छन् । उनले लेबनान सँगसँगै इजरायल र अरु सम्पूर्ण देशका जनतालाई निर्भयपूर्वक बाँच्न पाउने अधिकार रहेको बताए ।