पूर्व प्रधानमन्त्री देउवा स्वदेश फर्कने मिति तय
८ चैत काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा स्वदेश फर्कने कार्यक्रम तय भएको छ । श्रीमती डा. आरजू राणा देउवासहित उनी आगामी बुधबार राति हङकङबाट नेपाल फर्कन लागेका हुन् ।
क्याथे प्यासिफिकको उडान तालिकाअनुसार सो दिनको विमान हङकङबाट राति साढे ९ बजे काठमाडौं आइपुग्छ । काठमाडौं–हङकङ सेक्टरमा क्याथे प्यासिफिक र नेपाल वायुसेवाले उडान भर्दै आएका छन् । नेपाल वायुसेवाको विमान बिहान काठमाडौंबाट गएर अपरान्ह हङकङबाट फर्कने तालिका छ । तर, साताको तीन दिन उडान हुने नेपाल वायुसेवाको मंगलबार,बिहिबार र शनिबारको मात्रै तालिका छ ।
देउवा उपचारका लागि चुनावअघि फागुन १३ गते सिंगापुर एअरलाइन्सको उडानमा सिंगापुर गएका थिए । थप उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन अस्ति शुक्रबार हङकङ पुगेका छन् ।