सर्वोच्चको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन – देउवा पक्ष


Capital Headline
प्रकाशित मिति : मंगलबार, चैत्र १० २०८२
1.4K
SHARES

१० चैत काठमाडौं । शेरबहादुर देउवा पक्षले अदालतमा विचाराधीन पार्टीको आधिकारितासम्बन्धी मुद्दाको फैसला नभई कांग्रेसको नियमित महाधिवेशन गर्न नहुने बताएको छ । विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिले नियमित महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेकै दिन मंगलबार देउवा पक्षका नेता श्यामकुमार घिमिरेले यस्तो बताएका हुन् ।

उनले पार्टीको आधिकारितासम्बन्धी सर्वोच्च अदालतमा विचाराधीन मुद्दाको फैसला नभई नियमित महाधिवेशनमा जाने पक्षमा आफूहरू नरहेको बताएका छन् ।  घिमिरेले अदालतको फैसलापछि जुन पक्षले आधिकारिता पाए पनि नियमित महाधिवेशन सम्पन्न गरेर अघि बढनुपर्ने जिकिर गरे । उनले कांग्रेसका दुवै पक्ष एक भएर अघि बढ्नुको विकल्प नरहेको समेत बताए ।  पार्टीको आधिकारितासम्बन्धी मुद्दामा छिटो फैसला गर्न पनि सर्वोच्च अदालतलाई आग्रह गरे ।

“सर्वोच्च अदालतसँग मेरो आग्रह छ– तपाईंहरूले छिटो फैसला दिनुपर्छ । यो तपाईंहरूको संवैधानिक दायित्व र कर्तव्य हो । चाँडो फैसला दिनुस् । अन्योलमा नराख्नुस्,” उनले भने । नेता घिमिरेले सर्वोच्च अदालतले जनतामाथिको विश्वास आर्जन गर्न पनि सो मुद्दाको फैसला तत्काल गर्न गरेर अघि बढ्नुको विकल्प नरहेको समेत बताए । उनले देउवालाई बेवास्ता गरेर जाँदा निर्वाचनमा कांग्रेसले लज्जास्पद हार व्यहोर्नुपरेको आरोपसमेत लगाए ।