सभामुख पदमा डीपी अर्यालको उम्मेदवारी दर्ता


Capital Headline
प्रकाशित मिति : शुक्रबार, चैत्र २० २०८२
1.9K
SHARES

२० चैत काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (राप्रपा) का उपसभापतिसमेत रहेका प्रतिनिधि सभा सदस्य डोलप्रसाद (डीपी) अर्यालले सभामुख पदका लागि शुक्रबार बिहान संसद् सचिवालयमा उम्मेदवारी दर्ता गराएका छन्।बिहीबार रास्वपा संसदीय दलको बैठकमा सभापति रवि लामिछानेले सभामुख पदका लागि अर्यालको नाम प्रस्ताव गरेका थिए भने त्यो सर्वसम्मत रूपमा अनुमोदन भएको थियो।

अर्याल गत फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौँ क्षेत्र नम्बर ९ बाट निर्वाचित सांसद हुन्। सभामुख पदमा उम्मेदवारी दर्ताका लागि संसद् सचिवालयले आज बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मको समय तोकेको छ।

लगत्तै दिउँसो साढे २ बजे उम्मेदवारको सूची प्रकाशन गर्ने तालिका छ। सभामुख पदका लागि यही चैत २२ गते निर्वाचन हुँदै छ। त्यस दिन प्रतिनिधि सभा बैठकमा सभामुख पदमा निर्वाचित गरियोस् भनेर प्रस्ताव गर्ने र समर्थन गर्ने तालिका छ।

अर्याल सभामुख हुने निश्चित छ। किनकि प्रतिनिधि सभामा रास्वपा १८२ सिटसहित सबैभन्दा ठुलो दल छ। हाल सभामुख नभएकाले बिहीबार प्रतिनिधि सभाको पहिलो बैठक सबैभन्दा ज्येष्ठ सांसद अर्जुन नरसिंह केसीको अध्यक्षतामा गरिएको थियो। सभामुख नहुँदा प्रतिनिधि सभाका ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्ने प्रावधान छ।