नेपाली कम्युनिस्ट पार्टीले निर्वाचनको समीक्षा गर्दै
२० चैत काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले २०८२ फागुन २१ गतेको चुनावी परिणामलाई लिएर समीक्षा सुरु गरेको छ । पार्टीको केन्द्रीय कार्यसंयोजन समितिको बैठकमार्फत समीक्षा सुरु गरेको नेता एवं सांसद वर्षमान पुनले जानकारी दिए । उनले क्यापिटल हेडलाईनसंग भने, “हामीले डेलिभरी दिन सकेनौँ, त्यसैको परिणामस्वरुप जनतामा फ्रस्टेसन पैदा भयो । त्यसमा हामी आफैँले पनि भदौ २४ गतेको विध्वंशको विरोध गर्यौँ । २३ गते भएको जेनजी युवाहरूको हत्या र दमनको पनि विरोध गर्यौँ । तर, हामीले आफूलाई फरक तरीकाले प्रस्तुत गर्न र जनतालाई बुझाउन सकेनौँ । हामी पनि पुरानै हौँ भनेर जनता कहाँ गयौँ । पहिलो हारको कारण त्यो हो ।”
उनले थपे, “अरु त हामीले २६ वटा घटकसँग एकता गरेका थियौँ । तर, संगठन बनाउन पाएनौँ । केन्द्रमा पनि संगठन बनाउन पाएनौँ, मोर्चाजस्तो भयो । अहिलेसम्म पनि हामीले संगठन बनाउन सकेका छैनौँ । अब टुंग्याउँछौँ हामी । जसरी चुनाव पहिचान गर्न कमिटीहरू बनाउनुपर्थ्यो । त्यो बन्न पाएन ।” प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार परेकाले बैठक सुरु मात्र भएको र छलफल हुन बाँकी रहेको पनि उनले बताए । सोमबार बिहान ११ बजेका लागि बैठक फेरि बोलाइएको छ ।