बन्दीपुरमा पर्यटकको संख्या वृद्धि


Capital Headline
प्रकाशित मिति : सोमबार, चैत्र ३० २०८२
1.6K
SHARES

३० चैत तनहुँ । पर्यटकीय नगरी बन्दीपुरमा पर्यटकको चहलपहल बढेको छ । सरकारले हप्ताको दुईदिन सार्वजनिक बिदा दिने निर्णय गरेसँगै यहाँ आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएको हो ।यसअघि शुक्रबार र शनिबार बन्दीपुरमा पर्यटकको भीड हुने गरेकामा बिदाका कारण आइतबार पनि पर्यटकको आगमन बढेको बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले जानकारी दिए ।

उनले भने, “पछिल्लो समय सर्वसाधारणमा घुम्ने संस्कृतिको विकास भएको छ । त्यसमाथि सरकारले आइतबार पनि बिदा दिने निर्णय गरेपछि बन्दीपुरमा आन्तरिक पर्यटक बढ्दै छन् ।” प्रधानले हिजो आइतबार मात्रै एक हजार बढी पर्यटक बन्दीपुर आएको जानकारी दिए । उनका अनुसार, अन्य समय आइतबार पर्यटकको चहलपहल निकै कम हुने गर्थ्यो ।

बन्दीपुरका पर्यटन व्यवसायी वैशबहादुर गुरुङले हप्ताको दुईदिन बिदा दिने निर्णय पर्यटन प्रवर्द्धनका लागि सहयोगी हुने विश्वास व्यक्त गरे । उनले भने, “घुम्ने संस्कृति विकास भएका कारण आइतबारको बिदाले बन्दीपुरको पर्यटन प्रवर्द्धनमा टेवा पुग्नेछ ।”बन्दीपुर गाउँपालिकाले सन् २०२५ मा सञ्चालन गरेको बन्दीपुर भ्रमण वर्षका अवसरमा ६ लाख ५० हजार पर्यटक बन्दीपुर भित्रिएका थिए ।

यहाँका खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणिमुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेटवाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यका रूपमा सूचीकृत गरिएको छ ।भक्तपुरे शैलीमा निर्माण गरिएका घरहरू, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्रलगायत स्थल यहाँ आउने पर्यटकको आकर्षणको केन्द्रविन्दु बन्ने गरेको छ ।