एकताको तयारीमा एमाले र नेकपा


Capital Headline
प्रकाशित मिति : बिहिबार, बैशाख ३ २०८३
4.9K
SHARES

३ वैशाख काठमाडौं । नेकपा एमाले र  नेपाली कम्युनिस्ट पार्टीबीच एकताको गृहकार्य भइरहेको नेताहरूले बताएका छन्। नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र (पछि नेकपा) बनेको पाँच वर्षपछि  कम्युनिस्ट पार्टीको पुनगर्ठन गरेर जानुपर्ने निचोडसहित नेताहरू निरन्तर छलफलमा जुटेका हुन्। यसपटक एकताको छलफलको पहल एमालेको नेताहरूले गरेका हुन्।  चुनावी नतिजाको धक्का र आन्तरिक शक्ति संघर्षको दबाबमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा एकताको विषयमा चरणबद्ध छलफल भइरहेको संवादबारे जानकार एक नेताले बताए। ओली र नेकपाका संयोजक प्रचण्ड पनि दुई पार्टी पुनः एकता गरेर चुनावी धक्का र पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब सामना गर्ने कसरतमा छन्।

‘नेताहरूको बीचमा भेटघाट र संवाद भइरहेको छ। तर, त्यति अगाडि बढिसकेको होइन,’ एमालेका एक पदाधिकारीले भने।आफ्नै निकट र विश्वासपात्र मानिएका नेताहरूले नै नेतृत्व परिवर्तनको अभियान चलाएपछि ओलीले राजनीतिक अस्तित्व जोगाउन र पार्टीमा उत्पन्न हुने संकट टार्न एकताको कार्ड अघि सारेको कतिपय एमाले नेताको बुझाइ छ। ओलीले आफ्ना भरपर्दा केही नेतालाई नेकपासँगको संवादमा खटाएका छन्। एमाले उपमहासचिव लेखराज भट्ट र विष्णु रिमालले नेकपाका वर्षमान पुन अनन्तसँग पटकपटक छलफल गरिसकेका छन्।