पर्वतमा १४ वर्षीया बालिका आठ दिनदेखि बेपत्ता


Capital Headline
प्रकाशित मिति : आइतबार, बैशाख ६ २०८३
874
SHARES

६ बैशाख पर्वत । जिल्लाको मोदी गाउँपालिका–२ देउपुरकी १४ वर्षीया बालिका रितिका जैसी आठ दिनदेखि बेपत्ता छिन् ।  गत चैत २९ गते जलजला गाउँपालिका–७ धाइरिङस्थित मामाघरबाट घर फर्कने क्रममा उनी बेपत्ता भएकी हुन् ।मालढुंगा–बेनी सडकअन्तर्गत मिलनचोकबाट मोदी गाउँपालिकाको पातीचौर जान गाडीमा चढेको पाइए पनि हालसम्म सम्पर्कमा नआएको जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक विजय यादवले बेपत्ता किशोरीको खोजी तीव्र पारिएको र हुलियासहित मातहतका सबै प्रहरी युनिटलाई खोजीकार्य जारी राख्न भनिएको बताए ।

स्थानीय शिक्षक भूमिराज शर्माले गाडी चढेकी किशोरी पातीचौरमा नझरी कास्कीको पोखरा महानगरपालिका–२५ हेमजाको मिलनचोकमा झरेको बताए ।  झर्नुपर्ने ठाउँबाट करिब ३५ किलोमिटर अगाडि हेम्जामा झरेको थाहा भए पनि त्यसपछिको अवस्था अज्ञात रहेको उनले बताए ।

किशोरी देउपुरमै रहेको स्थानीय जननेत्र माध्यमिक विद्यालयको कक्षा ८ उत्तीर्ण गरी अब ९ मा भर्ना हुने समय भएको जनाइएको छ । निजलाई देखेभेटेमा वा शंकास्पद व्यक्तिबारे थाहा पाएमा नजिकैको प्रहरीमा खबर गरेर खोजीमा सहयोग गरिदिन परिवारले सबैमा अनुरोध गरेको छ ।