नयाँ बजेट सुन्दर आर्थिक विकास गर्नेतर्फ केन्द्रित भइरहेको छ – अर्थमन्त्री वाग्ले
१९ वैशाख काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले जनताको विश्वास जित्ने गरी आर्थिक विकास गर्नेतर्फ सरकार केन्द्रित रहेको बताएका छन् । बाह्रखरी मिडियाले शनिबार (वैशाख १९) काठमाडौंमा आयोजना गरेको आर्थिक परिसंवाद कार्यक्रममा उनले भारी बहुमतपछि जनताको विश्वास जित्नुपर्ने जिम्मेवारी सरकारमा आएको भन्दै रोजगारी सिर्जना र आर्थिक विकासतर्फ मुलुकलाई डोर्याउने गरी काम गरिरहेको उनले बताए ।
“यो समय आर्थिक राजगाजको जहाजलाई हाँक्ने समय हो । हामीले मिहिनेत, विश्वास र सतर्कता साथ काम गर्यौँ भने मुलुकको आर्थिक अवस्थालाई सुन्दर स्थितिमा पुर्याउन सक्छौँ । अहिलेको बजेट लेखनमा त्यसको प्रयास भइरहेको छ,’’ उनले भने ।
नेपालको आर्थिक विकासमा भारतबाट सिक्नुपर्ने पाठ धेरै रहेको उनले उल्लेख गरे । बाह्रखरी आर्थिक परिसंवादका मुख्य वक्ता अमिताभ कान्तले सुझाएका विषय कार्यान्वयनको प्रयास हुने उनले बताए ।
नेपालको विकासका निम्ति अमिताभले सुझाउनुभएका धेरै कुरामा सरकारले प्रयास गरिरहेको छ । असान्दर्भिक ऐन खारेजी र लगानीको वातावरण बनाउने नीति र व्यवहारसहित सरकारले काम गरिरहेको छ,’’ उनले भने ।
पूर्वअर्थमन्त्री तथा अर्थविद् रामेश्वर खनालको उच्चस्तरीय आर्थिक सुझाव आयोगको प्रतिवेदनानुसार पुराना र असान्दर्भिक कानुन हटाउन लागिएको उनले बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) हाल राज्यसंयन्त्रमा जकडिएका खराबी सुल्झाउने उद्देश्यका साथ अघि बढेकाले सुधारका धेरै काम हुने उनले बताए । “रास्वापका सभापतिले यो अवसरलाई खिल निकाल्ने गरी सदुपयोग गर्नुपर्ने भन्नुभएको छ । हामी खराब स्थिति अन्त्यको पक्षमा काम गरिरहेका छौँ,’’ उनले भने ।
अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रलाई विश्वासमा लिएर मुलुकको आर्थिक विकास गर्नेमा प्रतिबद्ध रहेको बताए । “हामी निजी क्षेत्रलाई विश्वासमै लिएर आर्थिक विकास गर्नेतर्फ प्रतिबद्ध छौँ । हामी व्यवसायीहरूको सुरक्षामा पनि उत्तिकै इमानदार छौँ । इमानदारिताका साथ व्यवसाय गर्ने र रोजगारी सिर्जना गर्ने उद्यमीको सुरक्षामा सरकार प्रतिबद्ध छ ।”